News

सम्पन्न भएको तीन वर्ष हुँदा पनि सञ्चालनमा आएन टेकु पुल

सम्पन्न भएको तीन वर्ष हुँदा पनि सञ्चालनमा आएन टेकु पुल

निर्माण सम्पन्न भएको तीन वर्ष बितिसक्दा पनि टेकु पुल अझै सञ्चालनमा आउन सकेको छैन । निर्माण व्यवसायीले कम गुणस्तरको पुल निर्माण गरेपछि अहिले सो पुल अदालती प्रक्रियामा छ । पप्पु कन्सट्रक्स प्रालिले तोकिएको डिजाइनभन्दा फरक गरी निर्माण गरेको सडक विभागले बताउँदै आएको छ । पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर) मा समस्या देखिएपछि विभागले अहिले सो पुलमा सवारीसाधन र यात्रुलाई हिँड्न दिएको छैन । 

उक्त पुल भत्काउन पनि रकम माग गर्ने योजना बनाइएको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपाीले बताउनुभयो । डिभिजन र निर्माण कम्पनीबीच विवाद भएपछि अहिले सो विषय कानूनी प्रक्रियामा छ । मुद्दा प्रक्रियामा रहेकाले अन्तिम सुनुवाइ पर्खिएको उहाँले बताउनुभयो ।

उनले भने–‘व्यवसायी र डिभिजनको कुरा मात्रैभन्दा कानूनी झमेलामा फसेको विषय हो, निर्णय आउनासाथ अघि बढिनेछ ।’ अहिले हिँड्न र सवारीसाधन चल्न नदिइएको उक्त पुल कति भागसम्म भत्काउने वा कसरी बलियो बनाउने बनाउने भनी अहिले नै टुङ्गो लागिसकेको छैन । डिभिजन र निर्माण कम्पनीबीच जुन कुरामा विवाद भएको थियो त्यो टुङ्गो लागेपछि मात्रै विकल्पका बारेमा छलफल हुनसक्ने प्रमुख नेपालीले बताए । सो मुद्दा अदालती प्रक्रियामा गएको एक वर्ष भइसकेको छ । उनले भने– “कोभिडका कारण नियमित सुनुवाइ नभएकाले टुङ्गो लागिसकेको छैन ।” 

सो पुल निर्माणका लागि सरकारले २०६९÷७० को ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले तीन वर्ष पहिले पुल सम्पन्न गरे पनि अहिले बन्द गरिएको छ । निर्माण सम्पन्न भएपछि केही समयसम्म पुल सञ्चालन गरिए पनि कम गुणस्तरको भएकाले बन्द गरिएको डिभिजनले जनाएको छ । अहिलेसम्म डिभिजनले सो पुलको जिम्मेवारी लिइसकेको छैन । ठेक्का तोडिएपछि सवारीसाधनलाई चल्न नदिने गरी बन्द गरिएको प्रमुख नेपालीले बताए।

जिम्मा लिएपछि पुलमा कुनै समस्या आउँदा त्यसको जिम्मेवारी आफ्नो हुने भए पनि अहिलेसम्म सो पुल निर्माण व्यसायीको जिम्मेवारीमा छ । तोकिएअनुसार (स्पेशिफिकेसन) अनुसार निर्माण नभएपछि पुल स्वीकार नगरिएको डिभिजनले जनाएको छ । पुल कति बलियो छछैन भन्दा पनि कसरी गर्ने सहमति भएको थियो त्यो अनुसार नभएको प्रमुख नेपालीले बताए।

यो क्षमताको हुनुपर्छ भनेको पुल त्योभन्दा केही कम क्षमताको भए पनि स्वीकार गर्न नसकिने उनँको भनाइ छ । उनले भने– “२० टन बोक्न सक्ने हुनुपर्नेमा १९ मात्र बोक्नसक्ने क्षमता हुँदा त्यसले तत्काल काम त दिन्छ तर त्यो सम्झौताअनुसार हुँदैन ।”

अहिलेसम्म हेर्दा पुलको माथिल्लो भाग (सुपर स्ट्रक्चर) मा मात्रै समस्या देखिएको छ । परामर्शदाता कम्पनीले अध्ययन गर्दा पनि माथिल्लो भागको जुन खण्डमा समस्या छ त्यो मात्रै भत्काए पुग्छ भन्ने राय दिएको डिभिजनले जनाएको छ । ‘सुपर स्ट्रक्चर’ को एउटा खण्ड बाहेक र त्योभन्दा तलको भागमा अहिलेसम्म समस्या भएको नपाइएको प्रमुख नेपालीले जानकारी दिए।

उनका अनुसार पहिले नै इञ्जिनीयरले प्रमाणित गरेको भाग भत्काउनु पर्दैन । उनले भने– “अहिले समस्या देखिएको भाग भत्काउँदा अरु भागमा पनि समस्या छ भने देखिन सक्छ ।” निर्माण कम्पनीले सम्पन्न भएको भने पनि डिभिजनले निर्माण कम गुणस्तरको भएको भन्दै स्वीकार गरेको थिएन । डिभिजनले स्वीकार नगर्ने भागको व्यवसायीलाई भुक्तानी असुल गर्न पर्दैन । देशभरमा एक हजारभन्दा बढी पुल निर्माणाधीन छन् । सडक बनिसकेका स्थानमा पुल नहुँदा सडक सञ्चालनमा आउन सकेको छैन । सङ्घीय राजधानी काठमाडौँको केन्द्रमा रहेको यो पुल भने सम्पन्न भएको वषौं बित्दा पनि सञ्चालनमा आउन सकेको छैन । यस क्षेत्रमा हिँड्ने कतिपयलाई पुलका बारेमा थाहा छ भने थाहा नहुने बनिसकेको पुल किन चल्न नदिइएको भन्नेमा अन्योल हुने गरेका छन् । सोही कम्पनीले जिम्मेवारी लिएको तीन कुनेस्थित वाग्मती पुल पनि समस्याग्रस्त छ । पटकपटक अवधि थप हुँदा पनि निर्माण सम्पन्न नभएपछि विभागले पुरानो ठेक्का तोडेर नयाँ ठेक्कामार्फत पुल निर्माण अघि बढाइरहेको छ । रासस

विशेष