News

अनियमितता गर्न आयुर्वेद स्वास्थ्यका कबिराजलाई कार्यालय प्रमुखको जिम्मा

अनियमितता गर्न आयुर्वेद स्वास्थ्यका कबिराजलाई कार्यालय प्रमुखको जिम्मा

लामो समयदेखि रौतहटका स्थानीय तहहरू निमित्तको भरमै चलेका छन् । अधिकांश नगरपालिका र गाउँपालिका सुब्बाले चलाउँदै आएका छन् । प्रमुख प्रशासकीय अधिकृतको दरबन्दी रहेका स्थानीय तहमा सुब्बा, स्वास्थ्य शाखा प्रमुख, लेखा शाखा प्रमुख, स्वास्थ्य शाखा प्रमुखले निमित्त भएर काम गरेका हुन् ।

नगर प्रमुखले मन्त्रालयले पठाएका अधिकृतलाई हाजिर गर्न नदिने र आफ्नै नजिककालाई मिलाएर ल्याउने प्रवृत्तिका कारण ती स्थानीय तहमा व्यापक अनियमितता हुने गरेको गुनासो छ । जिल्लाको दुर्गा भगवती गाउँपालिकामा आयुर्वेद स्वास्थ्यका कबिराज प्रमानन्द पाठकले निमित्त चलाएका छन्, त्यस्तै यमुनामाई गाउँपालिकामा आयुर्वेद स्वास्थ्यकै कविराज रामश्रेष्ठ यादव निमित्त छन् । यी दुवै ठाउँमा व्यापक भ्रष्टाचार भएको स्थानीयले बताएका छन् । आयुर्वेदका कविराज हाकिम बनेपछि उनीहरूको लुटतन्त्रले आतंक मच्चाएको यमुनामाईका स्थानीय बासिन्दा सतेन्द्र सिंहले बताए ।

मौलापुर नगरपालिकामा इञ्जिनियर रामबाबु साह निमित्त छन् । प्रभु साहकी श्रीमती रिना साह मेयर रहेको सो नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रममा व्यापक आर्थिक अनियमिता भएको चर्चा सेलाउन पाएको छैन । जिल्लाको मध्यभागस्थित गरुडा नगरपालिकामा इञ्जिनियर मुस्ताक आलम निमित्त छन् ।

उनी नगरपालिकाका आएपछि नगरपालिकामा अनियमितता बढेको स्वयं जनप्रतिनिधिले गुनासो गरेका छन् । सो नगरपालिकाका मेयर इन्दु रायका छोरा अनिलले आलमको मिलेमतोमा अनियमितता गरेको स्वयं उपमेयरको भनाइ छ । बाबु चुनाव जितेपछि नगरपालिकामा सहायक कम्प्युटर अपरेटर रहेका अनिलकै इशारामा गरुडा नगरपालिकामा व्यापक अनियमितता हुने गरेको स्थानीयको गुनासो पाइन्छ ।

राजदेवी नगरपालिकामा सुवोध साह छन् । उनले निमित्त हुनासाथ आर्थिक अनियमिततालाई प्राथमिकता दिएको उपप्रमुख अंशु सिंहले बताइन् । साह, लेखापाल र राजदेवी फर्मको मिलेमतोमा बाख्रा वितरणलाई लिएर व्यापक अनियमितता भएको चर्चा छ ।

यता, बौधीमाई नगरपालिकामा वडासचिव रामेश्वर राय यादव निमित्त कार्यालय छन् । यादव र लेखा हेर्ने अरबिन्द यादवको मिलेमतोमा व्यापक अनियमिता भएको स्थानीयले बताए । निर्वाचित जनप्रतिनिधिको यो बजेट अन्तिम भएका कारण उनीहरू खर्च उठाउनकै लागि निमित्तलाई नै आफ्नो कार्यअवधिभर राख्ने तयारीमा छन् ।
जनआस्था

स्थानीय तह निमित्तको भर

विशेष