News

उपचारका लागि पालो नपाएपछि कोशी अस्पतालमा नाराजुलुस

उपचारका लागि पालो नपाएपछि कोशी अस्पतालमा नाराजुलुस

विराटनगरस्थित कोशी अस्पतालमा एक्स–रे गर्न पालो नपाएको भन्दै सोमवार बिरामी र आफन्तले नाराजुलुस गरेका छन् ।

उपचारका लागि बिल काटेर पनि एक्स–रेका लागि पालो नआएपछि विरोध गर्नु परेको विराटनगरका स्थानीयवासीहरुले जनाएका छन् । चिकित्सकले थप उपचारका लागि भिडियो एक्स–रे गर्नुपर्ने बताएको र पालो नआउँदा धेरै बिरामी समस्यामा परेको उनको भनाइ छ।

अस्पतालले जनशक्ति अभावको कारण देखाउँदै पछिल्लो समय कोटा प्रणालीबाट एक्स–रे गर्न थालेको छ।  दैनिक करिब २ सय जनाको एक्स–रे हुँदै आएको अस्पतालमा हाल मुस्किलले २० जनाको मात्रै एक्स–रे हुने गरेको छ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. लक्ष्मीनारायण यादवले रेडियोलोजिस्टको कमि हुँदा बिरामीलाई अल्ट्रासाउण्ड, एक्स–रे सेवा सहज रुपमा दिलाउन नसकेको बताए। 

अस्पताल प्रशासनका अनुसार अस्पतालमा ५ जना रेडियोलोजिस्टको दरबन्दी मध्ये ४ जना कार्यरत थिए। ति मध्ये पनि दुई जनाले राजीनामा दिएपछि समस्या सुरु भएको छ ।

सोमबार एक जना विदामा रहेको र अर्का एक जना रेडियोजिस्टले सेवा प्रदान गरिरहेको प्रशासनको भनाइ छ। 

कोशी अस्पताल नाराजुलुस

विशेष