News

मणिपालले विद्यार्थीको भविष्य अन्योलमा पारेको भन्दै वैद्य निकट विद्यार्थीको ध्यानाकर्षण 

मणिपालले विद्यार्थीको भविष्य अन्योलमा पारेको भन्दै वैद्य निकट विद्यार्थीको ध्यानाकर्षण 

पोखराको फूलबारीमा सञ्चालित मणिपाल मेडिकल कलेजले सरकारसँगको सम्झौता विपरित कलेज बेचविखन गरेर विद्यार्थीको भविष्य अन्योलमा पारको भन्दै मोहन बैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तिकारी) को विद्यार्थी संगठनले ध्यानाकर्षण गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । 


सोमबार अनेरास्ववियू (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष हरिकृष्ण गजुरेलद्धारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘भारतको मणिपाल एजुकेसनल एण्ड मेडिकल ग्रुपको लगानीमा सन् १९९४ मा काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी पोखराको फूलबारीमा सञ्चालित मणिपाल मेडिकल कलेज सरकारलाई समेत जानकारी नै नदिई एकतर्फी ढङ्गले बतास अर्गनाइजेसनका आनन्दराज बतास र अटोवेज समूहका नारायण पौडेललाई बेचेको कुराप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । सरकारसँगको सम्झौतामा पोखराको फूलबारी र दीपमा ४९ वर्षको लागि लिजमा लिएको जग्गा र उक्त जमीनमा बनाइएको संरचना अरुलाई हस्तान्तरण गर्न नपाउने कुरासमेत सम्झौतामा उल्लेख भएको छ भने यसबाट एमबीबीएस र एमडीमा अध्ययनरत विद्यार्थीहरुको भविष्य अब के हुने भन्ने कुराको अन्योलता सिर्जना भएको छ ।’

‘मेडिकल कलेजको विगतको करसमेत चुक्ता गरे÷नगरेको कुरा स्पष्ट नभएको हुँदा अविलम्ब नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं । सन् १९९२ मा नेपाल सरकार र मणिपाल हस्पिटल एण्ड एजुकेसनल ग्रुपबीच भएको सम्झौता कार्यान्वयनका लागि नेपाल सरकारलाई हार्दिक अपिल गर्दछौं । अन्यथा, विगतको सम्झौता कार्यान्वयनको निम्ति सशक्त सङ्घर्षमा उत्रन बाध्य हुने चेतावनीसहित विद्यार्थी, अभिभावक, शिक्षक, मजदूर, किसान, युवालगायत आम जनसमुदायलाई हार्दिक अपिलसमेत गर्दछौं ।’ विज्ञप्तिमा उल्लेख छ । 

 


 

मणिपाल कलेज

विशेष