सार्वजनिक खपतका लागि खनालको भाषणः बाँकी जीवन सच्चा मार्क्सवादी पार्टी निर्माणमा

नेकपा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले सार्वजनिक खपतको शब्द प्रयोग गर्दै ‘बाँकी जीवन सच्चा माक्र्सवादी पार्टी निर्माणमा समर्पित गर्ने’ बताएका छन् । झण्डै २ महिना लामो उपचारपछि सोमवार स्वदेश फर्केका खनालले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो वताएका हुन ।
‘यो नाफाको जीवन हो, स्वास रहुञ्जेल राष्ट्र, राष्ट्रियता र कम्युनिस्ट आन्दोलनको विकास र विस्तारको लागि लागि पर्नेछु’– उनले भने । आफु ७० वर्ष पुगेकाले कार्यकारी पोष्टको दावी नगर्ने उनले जिकिर गरे। उनले भने– ‘पार्टीले के गर भन्छ त्यसको लागि ठाउँ राखेको छु । कार्यकारी माग गर्ने नैतिक अधिकार छैन । नवौँ महाधिवेशनमा ७० वर्षको उमेर राख्ने नेता म हुँ, त्यसमा दृढतापूर्वक उभिने नेता हु ।’
खनालले अहंकारी व्यक्तिको कब्जामा नेतृत्व गएका कारण पार्टी पुनर्गठन गर्नुपर्ने बाध्यता आइलागेको बताए। केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी दक्षिणपन्थी अवसरवाद, गुट, अहंकार र व्यक्तिवादको प्रतीक बनेको उनको आरोप छ।
खनालले अग्रगतिका लागि पार्टीमा विद्रोह भएको बताए । ‘केपी ओलीको पार्टी दक्षिणपन्थी अवसरवाद, गुट, अहंकार र व्यक्तिवादको प्रतीक बनेको छ । विद्रोह विनाश होइन, अग्रगति पनि हो,’ खनालले भने, ‘विद्रोह हेर्दा थोरै मान्छेको हो कि जस्तो लाग्छ, शुरूमा एकबाट सय हुन्छ, हजारौ हुन्छ ।’
खनालले आफूहरूको रगत र पसिनाले एमाले वनेको वताए । ‘नेकपा एमाले हामीले बनाएको पार्टी हो । पछिल्लो अवस्थामा अहंकारी गुटले नेतृत्व कब्जा गर्यो । पार्टीमा चिरा पर्दै गयो, यसले गर्दा पार्टीलाई फेरि पुनर्गठन गर्नुपर्ने अवस्था आयो’– उनले भने।
यो पनि
उपचारपछि स्वदेश फर्केका खनाललाई लिन अध्यक्ष नेपाल आफै विमानस्थलमा