News

जुम्ली स्याउको माग बढ्यो 

जुम्ली स्याउको माग बढ्यो 

जुम्लामा उत्पादन भएको  स्याउ बाहिरी जिल्लामा निर्यात गर्न सुरुआत गरिएको छ । देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि  स्याउ टिप्न सुरु भइसकेको जानकारी दिए । जिल्लाका स्याउ बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालयले जनाएको छ । 

कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो । कृषिफर्म सञ्चालन गरेका तथा स्याउ बगैँचा भएका किसानले आफ्नो स्याउ बिक्रीका लागि सम्बन्धित  स्थानीय तहबाट  सिफारिस लिनुपर्ने प्रावधान छ । स्याउको पहिचान बचाउन  लोगो टाँसिएको कार्टुन व्यापारीलाई  उपलब्ध गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन  कार्यान्वयन एकाइले जनाएको छ ।

स्याउ निर्यात खुला गरिएपछि अहिलेसम्म दुई हजार टनभन्दा बढी बाहिरी जिल्लामा निर्यात भइसकेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए। यहाँ उत्पादित स्याउ ए‚ बी र सी ग्रेडमा छुट्याइएको छ यी मध्ये ए र बी ग्रेडको स्याउ निर्यात गरिएको छ । सी ग्रेडको स्याउ प्रशोधन केन्द्रमा बिक्रीका लागि दिइने गरिएको कार्यालयले जनाएको छ ।


स्याउ बजारमा पठाउन यस वर्ष ३१ हजार आठ सयव कार्टुन वितरण गरिएको छ । स्याउ सुपोरजन कार्यालयले १० हजार आठ सय र कृषि विकास कार्यालयले २१ हजार वितरण गरेको हो ।

स्याउ जिल्लाबाहिर निर्यात गर्न सहज होस् भनी ५० प्रतिशत अनुदानमा किसानलाई कार्टुन उपलब्ध गराइएको हो । कार्यालयमा पाँच सय १६ उद्योगी, कृषिफर्म तथा सहकारी कृषक समूह सूचीकृत छन् ।


जिल्लामा १५ हजार स्याउ बगैँचा भएको तथ्याङ्क  छ । जिल्लाको कूल १८ हजार घरधुरीमध्ये करिब १५ हजार घरमा स्याउ बगैँचा स्थापना रहेको कार्यालयले जनाएको छ । जिल्लाको तीन हजार आठ सय हेक्टरमा स्याउ खेती हुन्छ । यस वर्ष व्यापारीले बगैँचामा नै पुगेर प्रतिकिलो रु ५० देखि ६० मा स्याउ खरिद गर्दै आएका छन् । गत वर्ष करिब रु १२ करोड बराबरको स्याउ बिक्री भएको थियो । 

जुम्ली स्याउ

विशेष