News

माधव नेपाल पक्षको चिन्ता– ओली अघि बढिसके, हामीलाई रोकेर हुन्छ ?

माधव नेपाल पक्षको चिन्ता– ओली अघि बढिसके, हामीलाई रोकेर हुन्छ ?

पार्टी एकताका लागि माधव नेपाल पक्षलाई अब नपर्खिने निष्कर्षमा पुगेको एमाले संस्थापन खेमा बैठक बसेर भटाभट निर्णय गर्न थालेको छ । दुबैतिरका दोस्रो तहका नेताहरु एकताको प्रयासमै रहेकै बेला आफूपक्षीय स्थायी कमिटी बैठक बोलाएर अध्यक्ष केपी ओलीले संगठनसम्बन्धी महत्वपूर्ण निर्णयहरु गरेका हुन ।

विघटित कार्यदलमा रहेका नेपालपक्षका नेताहरुले स्थायी कमिटी बैठक रोक्न आग्रह गरेपनि एकताको नाममा पार्टी लामो समय अनिर्णयको बन्दी बन्न नसक्ने भन्दै ओली कस्सिएका छन्। दुई दिनसम चलेको बैठकले एमालेको आन्तरिक जीवनमा दीर्घकालीन महत्व राख्ने निर्णयहरु गरेको छ । बिभिन्न विभागहरु गठन गर्नुका साथै विधान अधिवेशन,सदस्यता नवीकरणलगायतका निर्णय गरेर ओलीले नेपाल समूहलाई छोडेरै अगाडि बढ्ने प्रष्ट सन्देश दिइसकेका छन्।

ओलीले आफ्नो लाइन क्लियर गरिसक्दा पनि नेपाल पक्षका कतिपय नेता भने अलमलमा छन् । हुन त नेपाल समूहले पनि आफ्नो सांगठानिक गतिविधिलाई निरन्तरता दिइरहेको छ । चैत ४ र ५ गते राष्ट्रिय भेला गरी देशव्यापी समानान्तर कमिटी गठन गरेको छ । युवा–विद्यार्थी संगठनलाई चलायमान बनाइरहेको छ । अस्ति शक्ति प्रदर्शनसहित अखिल फोर्स घोषणा गरेको नेपाल समूह वडासम्मै पुगेर संगठन बिस्तारको अभियानमा जुटिरहेको छ ।

तर,एकताका लागि हत्तारिएको नेपाल समूहकै केही नेता भने समानान्तर सांगठानिक गतिविधि रोक्नुपर्ने अडानमा पुगेको बताइन्छ । ती नेताले समानान्तर गतिविधि रोक्न वरिष्ठ नेता माधव नेपाललाई दबाब दिइरहेको सो समूहनिकट एक नेताले बताए । ‘उनीहरु (ओली पक्ष) बिधान सम्मेलन भनेर तल–तल वडासम्म गैसके,हाम्रो चैं विद्यार्थीको कार्यक्रम पनि रोक्न खोज्छन्’, उनले भने ।

बताइएअनुसार नेपाल समूहको तर्फबाट वार्ता टोलीमा रहेका नेताहरुले अखिल फोर्स र पिपुल्स भोलेन्टियर घोषणा नगर्न दबाब दिएका थिए । त्यसैले दुवै संगठनको घोषणा कार्यक्रममा पनि उनीहरु उपस्थित भएनन् ।

‘यता दबाब दिनेले युथफोर्स गठन किन रोक्न नसकेको ? उनीहरुले युथफोर्स बनाएपछि हामीले अखिल फोर्स गठन गरेको हो’,ती नेता अगाडि भन्छन्, ‘उनीहरु (ओली पक्ष) वडासम्म कार्यक्रम लिएर जाँदा एकता नभाँडिने अनि हामीले चैं केही कार्यक्रम गर्नेबित्तिक्कै एकता भाँडिने हुन्छ र ? ओली अघि बढिसके, हामीलाई रोकेर हुन्छ ?’
जनआस्था

विशेष