यसरी फस्दैछन् अष्टलक्ष्मी र युवराज ज्ञवाली ओलीको माकुरी जालमा
नेकपा एमालेमा अन्तरसंघर्ष चर्किंदै जाँदा अध्यक्ष केपी ओलीको चर्को विरोध गरेर चर्चामा आएका माधव नेपाल समूहका ‘हार्डलाइनर’ अधिकांश नेताहरु अहिले शान्त छन् । अन्तरसंघर्षको सुरुआती चरणमै कुनै पनि हालतमा अध्यक्ष ओलीसँग मिल्न नसकिने निचोड निकालेका ती नेता अहिले भने पार्टी एकताको विकल्प कल्पनै गर्न नसकिने बताइरहेका छन् ।
उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, भीम आचार्य हुँदै युवराज ज्ञवालीसम्म अहिले ओलीसँगको एकताका लागि वरिष्ठ नेता माधव नेपाललाई आन्तरिक दबाब बढाइरहेका छन् । जबकि यिनै नेताहरु दुई महिना अगाडिसम्म नयाँ पार्टी गठनका लागि नेता नेपाललाई दबाब दिइरहेका थिए ।
कम्युनिष्टहरु आन्तरिक जनवादको उच्चतम अभ्यासमार्फत रुपान्तरणसहितको एकताको सैध्दान्तिक सीमाभित्र अन्तविरोध व्यवस्थापनमा जोड दिन्छन् । तर,जतिबेला अन्तरविरोध शुरु हुँदै थियो, त्यतिबेला निषेधको राजनीति समातेका नेताहरु अहिले अन्तरविरोध निर्णायक मोडमा पुग्दा भने निशर्त एकताका पक्षमा उभिनुलाई चैं त्यहि समूहका धेरै नेताले अचम्म मानेका छन् ।
नेपाल समूहका एक नेताले यसलाई उल्टो यात्राको संज्ञा दिए । ‘चैततिरै नयाँ पार्टी गठन गर्न झोला बोकेर निर्वाचन आयोग र कोटेश्वर चाहार्ने कमरेडहरु अहिले एकता कि एकता भनिरहनु भएको छ । हामीले त त्यतिबेला पनि रुपान्तरणसहितको एकता हुनुपर्छ भनेका थियौँ । अहिले पनि सम्मानजनक एकताकै पक्षमा छौँ । उहाँहरु चैं उल्टो बाटो हिंड्नुभयो ।’
लामो समय कम्युनिष्ट आन्दोलनमा लागेर कपाल पÞmुलाइसकेका पाका नेताहरु किन उल्टो बाटो हिँडे छ ? दुई–तीन वटा कारणले मनस्थिति फेरिएको हुनसक्ने उनको बुझाइ छ । खुलाउँदै उनले भने, ‘पहिलो कारण ३० औँ वर्ष कम्युनिष्ट आन्दोलनमा लागेर दुःख गरियो, अब जीवनको उत्तरार्धमा किन एमाले छोड्नु भन्ने परेको होला । अर्को सूर्य चिन्हको भावनात्मक सम्बन्धले तानेको पनि देखिन्छ र सबैभन्दा महत्वपूर्ण कुरा चैं केपी ओलीले व्यक्तिगत भेटेर केही प्रस्ताव गरेको हुनसक्छ ।’
अध्यक्ष ओली र उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको अस्तिको बालकोट भेटको सन्दर्भ जोड्दै उनले भने, ‘ओलीले माधव नेपालको धुवाँदार बिरोध गर्दा पनि अष्ट कमरेड चुपचाप बस्नुभयो रे भन्ने सुनियो । सायद उहाँलाई पनि मुख्यमन्त्रीको आश देखाइएको हुनसक्छ । अप्ठेरो पर्दा जस्तोसुकै सम्झौता गरिदिने त ओली कमरेडको शैली नै हो ।’
बालकोट भेटमा आफ्नो खरो आलोचक शाक्यलाई ओलीले प्रशंसै प्रशंशा गरेका थिए। वताइएअनुसार झापामा भूमिगत कालमै पार्टी बनाउन योगदान गरेको,बागमतीमा बजेट पास गराएर सरकार टिकाएको भन्दै ओलीले शाक्यको प्रशंसा गरेका थिए।
‘जसलाई भेट्यो त्यसैलाई कानमा चिनी हाल्ने त ओलीको शैली नै हो,कुन नयाँ कुरा भयो र ? हिजो प्रचण्ड, माधव नेपाल र बामदेव कमरेडलाई एकैदिन एकैचोटी प्रधानमन्त्री र पार्टी अध्यक्ष बनाउनुभएकै हो’, त्यहि स्रोत भन्छ, ‘अष्टलक्ष्मी कमरेडलाई पनि केही दिन्छु भने होलान् । अब उहाँले पत्याउनु भयो भने उहाँकै कुरा भयो ।’
पछिल्लो समय उपाध्यक्ष युवराज ज्ञवाली पनि नरम भाषा बोल्न थालेको बताइन्छ ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।