News

‘मेयरको घर र होटलमा खोप– लाइनमा वस्ने जनतालाई खोप न सोप’

‘मेयरको घर र होटलमा खोप– लाइनमा वस्ने जनतालाई खोप न सोप’

नेकपा एमालेका सांसद महेश बस्नेतले कोरोना विरुद्धको खोप दुरुपयोग भएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको आलोचना गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका बस्नेतले कांग्रेस नेता, कार्यकर्तालाई लगाउन होटलमा समेत खोप लुकाइएको बताउँदै सर्वसाधारणले दिनभर लाइन बस्दा पनि लगाउन नपाएको भन्दै कटाक्ष गरे। मंगलवार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भने–‘प्रधानमन्त्री भन्नुहुन्छ खोप, खोप, खोप। कांग्रेस मेयरको घरमा खोप, उपसभापतिको घरमा खोप, होटलमा सत्तापक्षका कार्यकर्तालाई खोपै खोप, जनता दिनभरि लाइनमा खोप न सोप।’

सरकारले खोपमा सर्वसाधारण भन्दा कांग्रेस नेता कार्यकर्तालाई दिएको उनको आरोप छ।

सत्ता गठनबन्धनभित्र मतभेद बढेकाले तीन हप्तासम्म पनि मन्त्रिमण्डल विस्तार हुन नसकेको वस्नेतको दाबी गरे। ‘माओवादी जसपा भन्दैछ–मन्त्री संख्या नबढाए सांसदले आत्महत्या गर्ने भए, दिमागमा आतंक र भूकम्प ल्याए, परमादेशबाट गठन भएको सरकार तीनहप्ता भएछ’, उनले भने, ‘मन्त्रिमण्डल गठन भएन, न्यूनतम साझा कार्यक्रम पनि आएन।’

बस्नेतले सर्वोच्च अदालतको पछिल्लो निर्णयपछि बेरोजगार भएका केही कानुन व्यवसायीलाई अदालत पठाएर कुनै पनि पार्टीका नेतालाई मन्त्री बनाउन परमादेश जारी गराउन सुझाव दिए । उनले भने, ‘प्रधानमन्त्रीज्यू अब बेरोजगार भएका त्रिपाठी (दिनेश त्रिपाठी) हरुलाई अदालत पठाउनुस्, फलना पार्टीका फलाना व्यक्तिलाई मन्त्री बनाइपाऊँ भनेर परमादेश जारी गराउनुस्।’

बस्नेतले जनादेशबिनाको सरकार धेरै समय चल्न नसक्ने पनि दाबी गरे। बस्नेतले अरु कोही नपाएर प्रधानमन्त्री देउवाले व्यापारीलाई मन्त्री बनाकोमा पनि आलोचना गरे। ‘विचरा! सरकार व्यापारीलाई मन्त्री बनाउँछ। सचिव फेर्छ, वीर हस्पीटलको एमडी फेर्छ, अनि स्वास्थ्य माफियालाई संरक्षण गर्छ।’– उनले भने ।

महेश बस्नेत शेरबहादुर देउवा

विशेष