News

प्रहरीको आन्तरिक परिक्षामा प्रश्न पत्र चुहाउने को ? 

प्रहरीको आन्तरिक परिक्षामा प्रश्न पत्र चुहाउने को ? 

नेपाल प्रहरीले हालै लिएको एउटा आन्तरिक परीक्षामा प्रश्नपत्र चुहिएर अन्तर्राष्ट्रिय बेइज्जती भएपछि छानबिन समिति गठन गरिएको छ । उता, सुर्खेतमा पनि सिपाहीको लिखितमा सक्कली प्रहरीले नक्कली उम्मेदवार बनेर परीक्षा दिएको रहस्य खुलेको छ ।

दुबै परीक्षामा भएको अनियमिततावारे बुझ्न प्रहरीले छानबिन समिति गठन गरेको छ । बिदेशका कुनै पनि मिशनमा पठाउनुअघि प्रहरीमा आन्तरिक छनौटको निम्ति परीक्षा लिनुपर्ने प्रावधान छ । आन्तरिक छनौटमा उत्तिर्ण भएका उम्मेदवारलाई पछि राष्ट्रसंघका प्रतिनिधि नै उपस्थित भएर परीक्षा लिने गरिन्छ । अहिले भने प्रारम्भिक टेस्टमै अनियमितता भएको हो ।

राष्ट्र संघले पछिल्लो पटक नेपाललाई मिशनको निम्ति उपलब्ध गराएको २ सय ७० वटा कोटाको लागि उक्त परीक्षा भएको थियो । जसमा २३ सय जना प्रहरी सहभागी भएका थिए । परीक्षा अगावै प्रश्नपत्र लिक भएपछि तहल्का मच्चिएको छ । परीक्षामा सहभागी केटाहरुले हल्ला गरेपछि एक कान दुई कान मैदान हुँदै क्वेस्चन आउटको रहस्य बाहिरिएको बताइन्छ ।

त्यहि अनियमितता जाँचबुझ गर्न आईजीपी सचिवालयका डिआईजी बसन्तकुमार लामाको अध्यक्षतामा छानबिन समिति गठन भएको हो । जसमा एसएसपी कृष्ण महत,साइबर ब्युरोका एक जना एसपी,अर्का एसपी केदार रजौरिया र कानुन विभागको प्रतिनिधि राखिएका छन् ।

सुर्खेतमा भएको लिखित परीक्षामा एक जना सिपाहीले १ लाख रुपैयाँ घुस लिएर अर्काको परीक्षा दिएका थिए । लिखितमा उत्तिर्ण भएका उम्मेदवारले अन्तर्वार्तामा अस्वाभाविक प्रवृत्ति देखाएपछि उक्त अनियमितताको रहस्य खुलेको हो ।
जनआस्था

नेपाल प्रहरी

विशेष