विदेश समाज

चीनद्वारा बाढीको कभरेज गरेको भन्दै विदेशी पत्रकारहरु माथि दुर्व्यवहार 

चीनद्वारा बाढीको कभरेज गरेको भन्दै विदेशी पत्रकारहरु माथि दुर्व्यवहार 

 

काठमाडौं । चीनमा विदेशी पत्रकारहरुलाई दुर्व्यवहार गरिएको छ । चीनको हेनान प्रान्तमा आएको बाढीको प्रकोपपछि समाचार संकलन गर्ने विदेशी पत्रकारहरुलाई शत्रुतापूर्ण व्यवहार गरेको जनाइएको छ । चीनको नकारात्मक चित्रण गरेको आरोप लगाउँदै राष्ट्रवादी संवेदनशीलतामाथि खेलेको भन्दै पत्रकारहरुलाई निशाना बनाइएको हो । 

लस एन्जलस टाइम्स र जर्मन आउटलेट डचेवेलेका रिपोर्टरहरुले शनिबार झेंग्झाउमा एक आक्रोशित भीडको सामना गर्नु परेको हो । उक्त भिडले ती पत्रकारहरुलाई रोकेर सोधपुछ गर्नुका साथै भ्रम फैलाएको आरोप लगाएका हुन् । चीनको निन्दा गरेको आरोप लगाउँदै ती पत्रकारहरुलाई समाचार संकलनमा समेत अवरोध पुर्याइएको छ । 

पत्रकार एलिस सु र माथियास बोइलिंगर हेनान प्रान्तमा आएको बाढीको समाचार संकलनका लागि झेंग्झौ सडकमा थिए । गत साता आएको भीषण वर्षापछिको बाढीले पुर्याएको क्षतिको रिपोर्टिङ  गर्न त्यहाँ पुगेका उनीहरुलाई मानिसहरुले घेरा हालेका थिए । 

उक्त बाढीले हेनान प्रान्त तहसनहस बनाएको छ भने स्थानीयको जनीवन कष्टकर बनेको छ । सुले स्थानीयहरुलाई सरकारले पर्याप्त राहत र उद्धारमा ध्यान दिन नसकेका कारण क्षति बढी भएको बताए । तर, स्थानीयहरुले भने सरकारविरुद्ध घृणा फैलाउने काम गरेको भन्दै पत्रकारहरु माथि नै खनिएका हुन् । 

चीनमा बीबीसीका अर्का एक संवाददाता स्टीफन म्याकडोनेलले ट्विटरमार्फत चीनमा विदेशी पत्रकारहरुमाथि उत्पीडनको स्पष्ट संगठित अभियान सञ्चालन गरिएको बताएका छन् । संयुक्त राज्य अमेरिकाले विदेशी पत्रकारहरुमाथि गरिएको दुर्व्यवहारको निन्दा गर्दै पत्रकारहरुलाई दुःख नदिन पनि चेतावनी दिएको छ ।

विशेष