News

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढ्दै

पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएका खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकाले दुर्घटनाको जोखिम बढेको चालक बताउँछन् । 

दैनिक हजारौँ सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित सरोकारवाला निकायको यसतर्फ ध्यान जान नसकेको स्थानीयवासी बताउँछन् । राजमार्गका ठाउँठाउँमा गरिएको कालोपत्र अघिल्लो वर्षको असार–साउनको अविरल वर्षाका कारण मिर्चैयामा भत्केका सडकको झण्डै एक वर्षभन्दा बढी समय बिते पनि टालटुलसमेत हुन सकेका छैन । 

खासगरी पूर्वमा कटारी चोकदेखि पश्चिममा मिर्चैया थाना चोकसम्म रहेका खाल्डाखुल्डीका कारण राजमार्गको अवस्था अस्तव्यस्त बनेको स्थानीयवासीको भनाइ छ । मिर्चैयाको थाना चोक, कटारी चोक र पश्चिम बस बिसौनीमा रहेका ठूलठूला खाल्डाखुल्डीले पैदल आवतजावत गर्नसमेत समस्या भइरहेको छ । 

एकातिर सडकमा रहेका खाल्डाखुल्डी पार गर्न चालकले लेन मिच्दा दुर्घटनाको जोखिम बढेको स्थानीय व्यापारी अशोक साहले बताए। राजमार्गमा रहेका समस्यालाई समाधान गर्न सडक डिभिजन कार्यालय लहानलाई पटक–पटक जानकारी गराइए पनि कुनै चासो नदिएको व्यापारी साहको कथन छ ।

राजमार्गका केही स्थानमा सडक टुटफुट भएर खाल्डाखुल्डी हुँदासमेत सडक डिभिजन कार्यालयले कालोपत्र गरेर दिगो समाधान गर्नतर्फ ध्यान नदिएको स्थानीयवासीको भनाइ छ । वर्षायाममा नै भत्किएको सडक अहिलेसम्म नबन्दा यात्रुका साथै स्थानीयवासीले सास्ती बेहोर्नुपरेको छ । मुख्यमार्गमा पैदल आवतजावत गर्नेलाई पनि कठिनाइ भइरहेको छ । सडकमा जोखिम मोलेर भए पनि चालकले यातायात सञ्चालन गर्ने गरेका छन् । 

मिर्चैया नगरपालिकाका प्रमुख श्रवणकुमार यादवले सडकको दुर्दशाप्रति आफूहरु पनि चिन्तित रहेको जनाउँदै सडकको समस्या समाधानका लागि पहल गरिरहेको बताए।

विशेष