News

पहिलो खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो खोप २५ साउनदेखि

पहिलो खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो खोप २५ साउनदेखि

०७७ फागुन २३ देखि चैत १० गतेसम्म पहिलो मात्रा खोप लगाएर दोस्रो मात्रा लगाउन नपाएका ज्येष्ठ नागरिकले करिब २३ हप्तापछि दोस्रो मात्रा खोप प्राप्त गर्न लागेका छन् ।

सोमवारबाट ६५ वर्षभन्दा माथिको उमेर समूहका नागरिकलाई आस्ट्राजेनेका खोप दिन थालिने बताएका छन्। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले उक्त खोपको पहिलो र दोस्रो मात्रा आठदेखि १२ हप्ताको अन्तरमा लगाउनुपर्ने सुझाव दिँदै आएको छ।

एउटा पछिल्लो अध्ययनले भने ४५ हप्ताको अन्तरमा खोप लगाउँदा त्यसले अझ प्रभावकारी प्रतिरोधी प्रणाली उत्पन्न गराउने जनाएको छ। अक्सफर्ड खोप समूहका निर्देशक प्राध्यापक एन्ड्रयु पोलार्डले आस्ट्राजेनेका खोपको पहिलो मात्रा लगाएको लामो समयपछि दोस्रो मात्रा खोप लगाउँदा पनि त्यसले कोरोनाभाइरस विरुद्ध उच्चस्तरको सुरक्षा दिने वताएका थिए ।


जापान र भुटान सरकारबाट प्राप्त खोप पहिलो मात्रा कोभिशील्ड खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रुपमा दिन लागिएको हो। जापानले आफ्नो देशमा निर्मित आस्ट्राजेनेका खोपको १६ लाख मात्रामध्ये पहिलो किस्तामा ८ लाख खोप नेपाललाई शनिवार हस्तान्तरण गरेको छ। 

काठमाण्डूस्थित जापानी राजदूत किकुटा युटाकाले उक्त खोप स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। जापानले प्रतिबद्धता जनाएको खोपमध्ये आठ लाख आस्ट्राजेनेका खोप आइतवारसम्म नेपालमा आइपुग्ने अधिकारीले बताएका छन्। वाँकी ८ लाख डोज खोप पनि चाँडै आउने जनाईएको छ ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले भुटान र जापानबाट प्राप्त आस्ट्राजेनेकाको खोप प्रदेशहरूमा पठाउन थालिएको वताएका  छन् । साउन २५ गतेबाट उक्त खोप ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई दिन थालिने छ।

भुटानले शुक्रवार नेपाललाई दुई लाख ३० हजार आस्ट्राजेनेका खोप पैँचोमा दिएको थियो जुन पछि नेपालले फिर्ता गर्ने अधिकारीहरूले बताउँदै आएका छन्।

यसअघि मन्त्रालयले पहिलो मात्रा लिएका १३ लाख ६४ हजार ज्येष्ठ नागरिकले अक्सफर्ड–आस्ट्राजेनेकाद्वारा विकास गरिएको र भारतमा उत्पादन गरिएको कोभिशील्ड खोपको दोस्रो मात्रा प्रतीक्षा गरिरहेको जनाएको थियो।

नेपालले खरिद गरेको २० लाख खोपमध्ये १० लाख मात्रा भारतको सीरम इन्स्टिच्यूटले आपूर्ति रोकेपछि उनीहरूको पर्खाइ लामो भएको थियो।

नेपालमा शुक्रवारसम्म २२ लाखभन्दा बढी मानिसले पूर्ण मात्रा खोप लगाएका छन् भने ४४ लाखभन्दा बढीले एउटा मात्रा खोप लगाएका छन्। कोभिशील्ड खोपको दुइटै मात्रा लगाउनेको संख्या ४ लाख ६० हजार छ भने १८ लाख २८ हजार जनाले उक्त खोपको एउटा मात्रा मात्रै लगाउन पाएका छन्।

विशेष