News राजनीति

माधव नेपालले यसरी गुमाए दोस्रो अध्यक्ष हुने अवसर

माधव नेपालले यसरी गुमाए दोस्रो अध्यक्ष हुने अवसर

एमाले अध्यक्ष केपी शर्मा ओलीले हालै व्यक्त गर्नुभएको ‘च्याप्टर क्लोज्ड’ को धारणाले पार्टीको अर्को खेमा तरङ्गित भएको छ । हिजोदेखि आन्तरिक छलफलमा व्यस्त वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केही समय पहिले सर्वोच्चको फैसला र त्यसपछि उत्पन्न परिस्थितिबाट तरङ्गित भएर केपीले दोस्रो अध्यक्ष प्रस्ताव गरी समस्यालाई सहज बनाउन खोजेको र दोश्रो दर्जामा लाने उक्त प्रस्ताव नेता नेपालले अस्वीकार गरेपछि स्वतः निस्क्रिय भएको अर्थ लगाएको छ ।

कार्यदलमा रहेका नेपालनिकट एक जना नेताले भन्नुभयो, ‘त्यो प्रस्ताव ओली पक्षबाट उठाइएको थियो ।’ छलफलको क्रममा एउटा रोडम्यापबाट यसरी अघि बढ्ने भनेर ओली पक्षले कुरो अघि बढाए पनि पछि माधव नेपालले ‘म अध्यक्ष हुन्नँ’ भनेपछि दोश्रो दर्जावाला प्रकरण स्वतः सेलाएको हो । “माधवलाई दिन्छु भनेको हो,उनैले खान नमानेपछि अब अरु कसलाई दिनु,लौ च्याप्टर क्लोज”,ओलीको भनाइ उध्धृत गर्दै श्रोत बताउँछ ।

असार अन्तिमदेखि साउन पहिलो साताको परिस्थिति अलि असहज भएपछि ओलीले उक्त प्रस्ताव अघि बढाएको बताइन्छ । तर यसबीच सत्ता गठबन्धनमा राजनीतिक शिथिलता देखिएसङ्गै अहिले अध्यक्ष ओलीलाई शक्ति आर्जनको अनुभूति भएपछि च्याप्टर क्लोज्ड भनिएको नेपाल निकटस्थहरुको बुझाई छ ।

अध्यक्ष ओलीले माधव आफैँले अध्यक्ष हुन्न भनेकाले अब त्यो च्याप्टर क्लोज्ड भएको बताउन थालेका हुन । स्रोत भन्छ, ‘अदालतको आदेशपछि शीतल निवासलाई निकै अप्ठेरो पर्ने र निवर्तमान ओलीलाईसमेत कानुनी अल्झन आइपर्ने आशंकाले मात्रै तत्कालको गर्जो टार्न त्यो प्रस्ताव राखिएको थियो ।’

उक्त प्रस्ताव पहिले स्वयम् अध्यक्ष ओलीको मुखारविन्दुबाट सार्वजनिक भएको बताइन्छ । अध्यक्षले दोस्रो अध्यक्षको प्रस्ताव पहिले सुरेन्द्र पाण्डे र गोकर्ण बिष्टसँगको भेटमा राखेका थिए। त्यसपछि भीम रावल, विष्णु पौडेल,सुवास नेम्वाङ र ईश्वर पोखरेलसँगको संयुक्त भेटमा पनि त्यहि प्रस्ताव दोहोर्याए। जबकि त्यसो गर्न माधव खेमाले भनेकै थिएन । उसको सरोकार सप्ठेरोमा गुलियो गफ,अप्ठ्यारोमा ललीपप नहोस् भन्ने मात्रै थियो ।

दुई वटा अध्यक्षको प्रस्ताव गरे पनि उहाँले पावर सेयरिङबारे थप कुरो कहिल्यै नगर्नुभएको नेताहरु बताउँछन् । तर,वार्तामा सहभागी नेपालनिकट नेता भीम रावलका अनुसार १० बुँदे सहमति आफैँमा एउटा पावर सेयरिङ हो । त्यसको कार्यान्वयनको ज्ञारेण्टी दुई वटा अध्यक्ष भएको अवस्थामा मात्र हुने उनको बुझाई थियो ।

च्याप्टर क्लोज्ड भनिएको पछिल्लो अभिव्यक्तिलाई केही नेताले अध्यक्ष ओली अब पार्टी विभाजनतर्फ उन्मुख हुनुभएको रुपमा बुझेका छन् । पार्टीभित्र मिहिन ढंगले समग्र एकता भएमा उहाँको स्वभावअनुसार आगामी दिनमा पार्टी हाँक्नसक्ने अवस्था नरहने पूर्वसंकेत पाएर पनि च्याप्टर क्लोज्ड भनिएको हुनसक्ने आँकलन गरिएको छ । अब म अल्पमतमा पर्ने काम कहिल्यै गर्ने छैन भनेर उनले फागुन २३ को फैसलगत्तै सार्वजनिक रूपमा भनेका थिए।

नेपालनिकट एक जना स्थायी समिति सदस्य भन्नुहुन्छ, ‘अध्यक्षको इच्छा,परिस्थितिले पनि अब एकता भएको अवस्थामा एक्लौटी ढंगले पार्टी हाँक्नसक्ने सम्भावना देखिँदैन । उनले पछिल्लो समयमा गरेको धेरै विवादास्पद निर्णयमाथि प्रश्न उठाएकालाई पार्टीभित्र ठाउँ नदिने पक्का छ । त्यसैले उहाँबाट कम्युनिस्ट राजनीतिको रक्षा हुँदैन भन्नेहरु पनि प्रशस्त छन् । अब पनि पार्टीलाई उनको मात्र एकलौटी जिम्मा लगाउन हुँदैन भन्नेहरु निकै देखिन्छन् ।’

अध्यक्षले च्याप्टर क्लोज्ड भने पनि नेता सुवास नेम्वाङ र विष्णु पौडेलले चाहिँ दोस्रो अध्यक्ष कायम गर्छौं भन्दै आएको स्रोतले बताएको छ ।

नेपाल पक्षको हिजोको बैठकमा कार्यदलका केही सदस्यले १० बुँदे सहमतिलाई स्वीकार्दै कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । तर,कार्यदल बाहिरका अधिकांश नेताले ‘१० बुँदे कसले कार्यान्वयन गर्ने ?’ भन्दै यसले एकतालाई दह्रो बल नपुग्ने बताएका थिए।

त्यसैले हिजोको बैठकमा एकता सम्बन्धमा हालसम्म भएका सबै कार्यलाई उपलब्धि मान्ने र थप पहल गर्ने भन्ने आवाज धेरै सुनिएको हो । कार्यदलका सदस्यहरुमध्ये भीम रावलले पनि त्यस्तै धारणा राखेका थिए । उनको भनाई थियो, ‘अहिलेसम्मका प्रयत्नमार्फत प्राप्त भएका उपलब्धिलाई स्वीकार्ने र थप पहल गर्ने हो ।’

हिजोको बैठकको अन्ततिर उपाध्यक्ष रावल निकै चर्को ढंगले उत्रिएका थिए। केन्द्रीय सदस्य तथा माननीय रामकुमारी झाँक्रीले ‘कार्यदलले राम्रो गर्यो भन्ने थोरै छन्,धेरैले राम्रो गरेन भनेका छन् । एक थरिले कार्यदलले राम्रो गरेन भन्ने,अनि अर्का थरिले माधव नेपालले पनि राम्रो गरेनन्, अब उनको साथमा कोही पनि हुँदैन भनेर व्यक्त भइरहेका धारणालाई तत्काल रोक्नुपर्छ,’ भन्नेबित्तिक्कै रावल जङ्गिएको सहभागी एक जना केन्द्रीय सदस्यले बताए।

झाँक्रीको भनाई सुनेर रावल उफ्रेपछि माहौल एकछिन अस्वाभाविक बनेको थियो । समयसन्दर्भ र पार्टी संवेदनशीलतालाई ख्यालमा राखेर नेता रावललाई अरु सहभागी नेताले ‘नेता भएपछि सुन्ने धैर्य गर्नुस्’ भन्दै सम्झाएका थिए । तर रावल तातेपछि अन्तमा बैठक स्थगित गरिएको बताइन्छ ।

हिजोको बैठकमा सुरेन्द्र पाण्डे र योगेश भट्टराई अनुपस्थित भएका थिए। भट्टराई आमामा कोरोना संक्रमण देखिएकाले कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। पाण्डे पनि पिएसओलाई संक्रमण देखिएकाले बैठकमा अनुपस्थित भएको बताइन्छ ।

यसबीच माधव नेपाल पक्षका धेरै जना नेतालाई व्यक्तिगत रुपमा सम्पर्क गरेर बीचको उपाय सुनाउने नेताहरुको बारेमा पनि हिजोको बैठकका सहभागीहरुले अनौपचारिक चर्चा गरेका थिए । उनीहरुका अनुसार त्यसरी पहल गर्नेमा सुरेन्द्र पाण्डे, भीम रावल र भीम आचार्य सबैभन्दा बढी देखिएका छन्। रावलले सुदूर पश्चिमका नेतालाई, सुरेन्द्र पाण्डेले सबै क्षेत्रकालाई र आचार्यले १ नम्बर प्रदेशका नेतालाई सकेसम्म एकता है भन्दै सम्झाउनुभएको केही केन्द्रीय सदस्यले हाकाहाकी बताएका थिए ।
यो सामग्री जनआस्थावाट साभार गरिएको हो ।

केपी शर्मा ओली माधवकुमार नेपाल

विशेष