News

बाढीपीडितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउँछु : अध्यक्ष दाहाल

बाढीपीडितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउँछु : अध्यक्ष दाहाल

सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिका बारेमा सर्वदलीय प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ध्यानाकर्षण गराएको छ ।

प्रतिनिधिमण्डलले बाढीपहिरामा भएको क्षति र तत्कालका लागि आवश्यक पूर्वाधारका बारेमा जानकारी गराएको थियो । सो अवसरमा अध्यक्ष दाहालले आफू र आफ्नो पार्टीकातर्फबाट तत्परता र गम्भीरताका साथ प्रतिनिधिमण्डलले उठाएका विषयमा छलफल अगाडि बढाउने विश्वास दिलाए।

पूर्वप्रधानन्त्रीसमेत रहेका उनले मेलम्ची र हेलम्बुका बाढीपीडितका समस्या समाधानका लागि सरकारलाई घच्घच्याउने विश्वास पनि दिलाउनुभएको नेकपा (माओवादी केन्द्र)का नेता सुवोध सापकोटाले जानकारी दिए।

अध्यक्ष दाहालले भने– “देशमा बढेको प्राकृतिक प्रकोपको सम्बन्ध विश्वव्यापीरुपमा विकासको मोडलमा खोज्नुपर्ने भएको छ । हामीले पनि आफ्नो आन्तरिक अध्ययन र त्यसअनुसारको व्यवस्थापन गर्न जरुरी छ ।” उनले भने– “हिमालयको काखमा रहेको नेपालमा बढ्दै गइरहेका यसप्रकारका प्राकृतिक प्रकोपका कुरा विश्वका फोरममा पनि उठाउन जरुरी छ ।”

उनले प्रतिनिधिमण्डलले उठाएका विषयमा आफूले सरकारसँग स्पष्ट कुरा गर्ने जानकारी दिए। रासस

विशेष