सेनापति वंशु गुरुङ, जस्ले अंग्रेजहरुलाई परास्त गरेर हातहतियार कब्जा गरे (भिडियो)
अत्याधुनिक हातहतियारसहित नेपाल आक्रमण गर्नका लागि आएका इस्ट इण्डिया कम्पनीको अंग्रेज सेनालाई गुलेली, खुकुरी, सिस्नो, अल्लो र अरिङ्गालको सहायताले पराजित गरेको सिन्धुलीगढी नेपालको गौरवमय इतिहाँसको रुपमा स्थापित भएको छ ।
सङग्रहालयको परिसरमा निर्माण भएको बीर योद्धाहरु श्रीहर्ष पन्त, बंशु गुरुङ, बंशराज पाण्डे र वीरभद्र उपाध्यायको प्रतिमा, ठूलोगढी, सानोगढी, युद्धमा प्रयोग भएका किल्ला, पृथ्वीनारायण साहको पूर्णकदको शालिकले सिन्धुलीगढीको ऐतिहासिक महत्वमा उर्जा थपेको छ । सङग्रहालय भित्र गोर्खालीहरुले अंग्रेजहरुबाट जफत गरेका तोप, राइफल, बन्दुकहरु राखिएकाछन् । युद्ध जित्न परिचालन गरिएको अरिङ्गालको गोला र प्रयोग गरिएको सिस्नोलाई पनि सङग्रहालयमा सुरक्षित गरिएको छ ।
वि.स. १८२४ कात्तिक २४ गते इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको दुई हजार चार सय अंगे्रज फौजलाई राजा पृथ्वीनारायण शाह पक्षका वंशु गुरुङ नेतृत्वको नेपाली फौजले सिन्धुलीगढीबाट भगाएको थियो । जसमा झन्डै एक हजार छ सय अंग्रेज सेना हताहत भएका थिए । अंग्रेजविरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरूको पहिलो पराजय ।
ब्रिटिशको इस्ट इन्डिया कम्पनी सेनाले पहिलो पल्ट सिन्धुलीगढीमा हमला गर्न आउदा नेपाली सेनाका कमान्डर बंशु गुरुङको नेतृत्वमा गोर्खालीले गढी आउने बाटो वरपर सयौँ अरिङ्गालका गोला पहिचान गरिराखेका थिए र बाटो वरपर सयौँ सिस्नोका झ्याङ लगाएर राखेका थिए । जब ब्रिटिश सेनाहरू गढी आक्रमण गर्न जंगलको बाटो हुँदै आए, गोर्खाली सेनाले एकै पटकमा धनु काँडले सयौँ राता र काला अरिङ्गालका गोला झारिदिए । यसपश्चात् रिसाएका ति अरिङ्गालहरूले टोकेर सयौँ ब्रिटिश सेना बाटो वरपर मरे भने सिस्नुको पोलाई र अरिङ्गालबाट आत्तिएर कैयौँ अङ्ग्रेज सेना ज्यान जोगाएर भागे ।
सिन्धुलीगढीको युद्धमा गोर्खाका पृथ्वी नारायण शाहको सेना नायक (शिकारी नाइके) नियुक्त भएको वंशु गुरुङको नेतृत्वमा साम्राज्य बिस्तारबादी अंग्रेज सेनाले ठूलो क्षतिका साथै दक्षिणपूर्व एशियाकै पहिलो पराजय भोग्न परेको थियो । यसरी अंग्रेजलाई पराजयको स्वाद चखाएर वंशु गुरुङले नेपाललाई साम्राज्य बिस्तारबादी अंग्रेजको पञ्जाबाट जोगाएर अंग्रेजको उपनिवेश हुनुबाट बचाएका थिए । आधुनिक हातहतियारले सुसज्जित तत्कालीन अंग्रेज सेनालाई परास्त पारेर उनीहरुको हातहतियार वंशु गुरुङले आफ्नो कब्जामा लिएको नेपालको इतिहासमा उल्लेख छ ।
त्यसअघि गोर्खाली सेनासँग बन्दुक नभएको र सिन्धुलीगढीको युद्धमा अंग्रेज सेनालाई तहसनहस पारेर कब्जा गरिएको १६ नाल भरुवा बन्दुक प्राप्त भएकोले पृथ्वी नारायण शाहको नेपाल एकीकरण अभियान सहज र सफल भएको इतिहासकारहरुको भनाइ छ ।
बंशु गुरुङबारे मणिराम गुरुङको खोज गरेकाछन् । उनको खोज अनुसार –नेपालको इतिहासमा सिन्धुलीगढीको ठूलो महत्व छ । गोर्खाली सेनाले ठूलो बहादुरी प्रदर्शन गर्दै हिन्दुस्तान (भारत) मा उपनिवेश कायम गरेको तत्कालीन इस्ट इन्डिया कम्पनी सरकारलाई ठूलो पराजय चखाएको स्थान हो, सिन्धुली गढी ।
गोर्खाली सेनाले नेपाल खाल्डो (काठमाडौं उपत्यका) मा पटक–पटक आक्रमण गरेको थियो, तर सफलता हासिल भएको थिएन । त्यसैले पृथ्वीनारायण शाहले काठमाडौंवरिपरिका राज्य, रजौटा आफ्नो अधीनमा लिँदै गएका थिए । काठमाडौंलाई घेराबन्दीमा पारेर अधीनमा लिने उनको योजना थियो ।
काठमाडौंलाई घेराबन्दीमा पार्ने क्रममा गोर्खाली सेनाले जित हासिल गरेको महत्वपूर्ण गढी थियो, सिन्धुली गढी । यो गढी गोर्खाली सेनाले विसं १८१९ मा जितेको हो । त्यसैले पनि सिन्धुली गढीमा इस्ट इन्डिया कम्पनी सरकारको आँखा लाग्नु स्वाभाविक थियो । सिन्धुली गढीमाथि विजय प्राप्त गरेमा काठमाडौं उपत्यका हान्न केही सहज हुने र गोर्खाली सेनाको मनोबल पनि गिर्ने ठहर गरी इस्ट इन्डिया कम्पनी सरकारले कप्तान किनलकको नेतृत्वमा आक्रमण गरेको थियो ।
यो विसं १८२४ कात्तिक २४ गते (सन् १७६७ नोभेम्बर ११) को घटना हो । नागबेली परेको बाटोको दायाँ–बायाँ घना जंगल थियो । करिब आधाजति उकालोको पश्चिमपट्टि ढुंग्रेबास पर्छ । गढीभन्दा करिब आधा कोसको दूरीमा रहेको ढुंग्रेबास (भञ्ज्याङ) मा सरदार वंशु गुरुङको नेतृत्वमा गोर्खाली सेना तैनाथ थियो । माथि काजी वंशीराज पाण्डे र खचाञ्जी वीरभद्र उपाध्याय करिब सात सयजति सेनासहित ब्याकअप फोर्सका रूपमा तैनाथ थिए ।
अंग्रेज फौज बिहानको खाना खाइसकेर गोला, बारुदसहित आदि आधुनिक हतियारसहित गढीतर्फ अगाडि बढ्यो । भरियालाई रसद–पानी बोकाएर अगाडि बढेको अंग्रेज सेनाको अफिसर हार्डी थिए । काजी वंशीराज पाण्डे र वीरभद्र उपाध्याय नेतृत्वको फौजले हार्डी नेतृत्वको अंग्रेज सेनामाथि आक्रमण गर्याे । आक्रमणमा हार्डी आफैँ घाइते भए । रसद–पानी नै छाडेर अंग्रेज सेनाको भागदौड मच्चियो ।
त्यहीवेला सरदार वंशु गुरुङ नेतृत्वको गोर्खाली सेनाले आधुनिक हतियारसहितको अंग्रेज सेनामाथि आक्रमण सुरु गर्याे । एकातिर वंशीराज पाण्डे र वीरभद्र उपाध्याय नेतृत्वको ठूलो संख्याको गोर्खाली फौज, अर्कोतिर सरदार वंशु गुरुङ नेतृत्वको गोर्खाली फौजको आक्रमण । अंग्रेज सेना चेपुवामा पर्याे । अंग्रेज सेनासँग बन्दुक धेरै भएकाले केहीबेर घमासान लडाइँ भयो । दुवैतिर केही सेना हताहत भए । तर, दुवैतिरबाट आक्रमणको चेपुवामा परेको अंग्रेज फौज अन्ततः हतियार छाडेर जंगलैजंगल भागे ।
आधुनिक हतियारले सु–सज्जित भए पनि अंग्रेज सेना पहाडी भू–बनोटमा अभ्यस्त थिएन । त्यसैले उनीहरू जंगलमा पसेर भागेका थिए । त्यसरी भागेकाहरूलाई पनि वंशु गुरुङ स्वयं तथा उनी नेतृत्वको गोर्खाली सेनाले खुकुरी प्रहार गर्दै ध्वस्त पारे । गार्खाली सेनातर्फ करिब एक सय ५० जनाले वीरगति प्राप्त गरेको त्यो युद्धमा अंग्रेजतर्फ करिब चार सय फौज हताहत भएको बताइन्छ ।
करिब २४ सयको संख्यामा रहेको अंग्रेज सेनाले ठूलो क्षति व्यहोर्नुपरेपछि कप्तान किनलक हार स्वीकार गर्दै बाँकी रहेको फौज लिएर जनकपुरतर्फ गएका थिए । यसरी सिन्धुली गढी कब्जामा लिने लक्ष्यसहित आएको अंग्रेजलाई पराजय चखाएपछि गोर्खाली सेनाको मनोबल झन् उच्च भएको थियो । सरदार वंशु गुरुङ र उनी नेतृत्वको गोर्खाली फौजले अंग्रेजी फौजको नायक क्याप्टेन किनलक र उनको फौजको मेन बडी (मुख्य फौज) माथि हमला गरेका थिए । पौवा (सिन्धुली) गढीमा सरदार वंशु गुरुङले ठूलो बहादुरी देखाएका थिए ।
विश्वका विभिन्न मुलुकमाथि विजय प्राप्त गर्दैै र ती देशमा औपनिवेशिक शासन गर्दै अगाडि बढेको अंग्रेज फौजले दक्षिण एसियामै पहिलोपटक ठूलो पराजय भोगेको स्थान सिन्धुलीगढी नै रहेको बताइएको छ । हुन त त्यो अंग्रेज फौज काठमाडौं (तत्कालीन कान्तिपुर) का राजा जयप्रकाश मल्लको सहयोगार्थ आएको थियो । तर, विश्वभर औपनिवेशिक शासन कायम गर्दै आएको अंग्रेज त्यो विजय हात पार्न सफल भएको भए नेपाललाई पनि आफ्नो अधीनमा राख्न सफल हुनेमा दुईमत छैन ।
हामीले इतिहासको अध्ययन तथा जानकारीसँगै त्यसको मनन पनि गर्न सक्यौँ भने त्यो नै देशप्रतिको सच्चा माया ठहर्नेछ । राष्ट्रवादको शंखघोष हुनेछ । देशको माया गर्दै गर्व गर्न सक्यौँ र सिक्यौँ भने बल्ल देशको मुहार फेर्न सकिन्छ ।
सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिक स्थल सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्रहालय उद्घाटनसँगै संग्रहालय हेर्न आउने मानिसको चहलपहल बढेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले साउन १३ गते संग्रहालयको समुद्घाटन गरेकि थिइन् । नेपाली सेनाले निर्माण गरेको उक्त युद्ध संग्रहालय उद्घाटनसँगै कमलामाई नगरपालिकालाई त्यसको स्वामित्व हस्तान्तरण गरि अवालोकनका लागि खुल्ला गरिएको थियो ।