देउवा प्रधानमन्त्री भएपछि अकुत सम्पत्तिलाई वैधानिक वनाउँन माफियाको दौडधुप
१ मंसिर ०७६ मा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले मोरङ्गको विराटनगर–५, कञ्चनवारी स्थित नोबेल मेडिकल कलेजमा छापा मार्यो । सञ्चालक सुनिल शर्माको सम्पत्ति र नोबेल मेडिकल कलेजको सेयरबारे छानबिन चलिरहेकै छ।
सञ्चालक, सम्पत्ति र सेयर कारोबारको वैधताबारे प्रश्न उठेपछि कागजात जफत गरेर विभागले छानविन गरेको थियो । नोबेलको स्वामित्व लिँदा सञ्चालक सुनिल शर्माले गैरकानुनी बाटो अपनाइएको, अकुत सम्पत्ति आर्जन गरेको, स्वामित्व लिँदाको कानुनी–आर्थिक दायित्वलगायतबारे विवाद छन्।
२०५९ सालमा स्थापना गर्दा डा. ज्ञानेन्द्र गिरी अध्यक्ष रहेको नोबेल मेडिकल कलेजमा २८ करोड लगानी थियो। नोबेललाई सम्बन्धन दिलाउने सर्तमा सुनिल त्यसमा १६ प्रतिशत सेयर लिएर छिरेका थिए। डा. शेखर कोइरालामार्फत २०६४ सालमा उनले नोवेललाई सम्वन्धन दिलाए ।
शर्माले नोबेलका चार जना सञ्चालकबाट एकलौटी नोबेल मेडिकल कलेज हत्याएको आरोप छ। सञ्चालक समिति अध्यक्ष डा. ज्ञानेन्द्र गिरी, नवराज पाण्डे, आदित्य खनाल, उमेश पाण्डे लगायतलाई काभ्रे कामीडाँडा पु¥याएर मरणासन्न हुनेगरी पिटाएपछि सबै सञ्चालक नोबेलबाट अलग भए। अन्य सबै सञ्चालक हटेपछि नोबेलमा शर्माको एकलौटी छ।
माओवादी नेता वर्षमान पुनमार्फत शर्माले विमानस्थलबाटै अपहरण गराएर शर्माले नोबेल आफ्नो हातमा लिएका थिए। त्यसबेला माओवादी नेता तथा वर्षमान पुनले सघाएकाले पुनसँग शर्माको ‘कनेक्सन’ अहिले पनि राम्रो मानिन्छ।
एमबिबिएसमा १०० र बिडिएसमा ४० सिटको शैक्षिक कार्यक्रम चलाइरहेको नोबेल मेडिकल कलेजमा शर्मा एकल स्वामित्व छ। त्यसका अध्यक्ष शर्माका बुवा लोकनाथ न्यौपाने र प्रबन्ध निर्देशक उनकै श्रीमती इन्दिरा न्यौपाने बराल हुन्।
शर्माले आफ्नो सम्पत्ति श्रीमती र नातेदारका नाममा सेयरमार्फत छिराएका छन्। नोबेल अस्पतालबाहेक शर्माको काठमाडौंमा पिपुल्स डेन्टल कलेज, मेडिकल इन्स्टिच्युट, घर र मोरङकै विराटनगर, बेलबारी र हसनदहमा जग्गा छ।
आन्तरिक राजश्व विभागको अनुसन्धानमा पर्दा करिब सात/आठ वर्षअघि शर्माले नोबेलमा एक अर्बको कारोबार रहेको स्वीकार गरेका थिए। तर, बैंक अफ काठमाडौंलगायत विभिन्न बैंकमार्फत नोबेलमा दुई अर्ब बढी लगानी देखिएको थियो।
दुई अर्बभन्दा बढी चलअचल सम्पत्तिका मालिक भनिएका नोबेल अस्पताल सञ्चालक शर्माको विभिन्न ठाउँमा करोडौं लगानी छ। शर्मा यति छोटो समयमा त्यत्रो सम्पत्ति र विभिन्न क्षेत्रमा लगानी गर्न सक्ने क्षमताका कसरी भए कुनै निकायले राम्रोसँग अनुसन्धान गरेको भने छैन।
यसैविचमा शर्माले अन्य ३ वटा मेडिकल कलेजनमा लगानी गरेका छन् । त्यसमध्येमा पनि चिकित्सा क्षेत्रमा ठूलो लगानी मानिएको केएमसीको झन्डै आधा हिस्सा शर्माले खरिद गरेका छन्।
कुन सर्तमा शर्मालाई आधा सेयर धनीको रूपमा छिराइयो भन्ने वारे केएमसीका सञ्चालकहरूले बताइसकेका छैन। तर, उनी आधाभन्दा बढी लगानी गर्दै कलेजको अध्यक्ष बनेका छन् ।
एक सय सिटमा एमबिबिएस, २० सिटमा बिडिएस, एमडी र बिएस्सी नर्सिङका कार्यक्रम चलाउँदै आएको केएमसीको भक्तपुरमा ३८ र काठमाडौंको १५ रोपनी जग्गा छ। भवन, उपकरणलगायतका विषय तथा चलअचल सम्पत्ति, सेयरको मुल्यलगायतका विषयमा हालसम्म कुनै विवरण सार्वजनिक गरिएको छैन ।
यस वाहेक वाँकेको कोहलपुर स्थित नेपालगञ्ज मडिकल कलेज र अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा पनि शर्माको लगानी छ।
स्रोतका अनुसार नेपाल मेडिकल कलेजमा करिब १० अर्बको लगानी छ। २०५२ सालमा फागुन २५ गते नेपाल स्वास्थ्य शिक्षा प्रतिष्ठान अन्तर्गत नाफारहित संस्थाका रुपमा उक्त कलेज स्थापना भएको थियो। तत्कालीन समयमा डा सच्चेकुमार पहारीको नेतृत्वमा डा अञ्जनी कुमार शर्मा, डा रामरत्न उपाध्याय, इन्जिनियर दिपक भट्टराई, लम्बोदर न्यौपाने लगायतको सक्रियतामा कलेज स्थापना भएको हो।
यस वाहेक पनि शर्माले कयौं क्षेत्रमा लगानी गरेका छन्, जुन अरुको नजरमा छैन । कोरोना महामारीका कारण ब्यवसायमा घाटा लागेको भन्दै मेडिकल कलेजका सञ्चालकहरु पाखा लाग्दै गर्दा शर्माले भने एकपछि अर्को कलेजमा लगानी वढाउँदै लानुले पनि उनको आयश्रोत के हो भन्ने प्रश्न उठ्न थालेका छन् ।
उनको यो रफ्तार असामान्य भएको जानकारहरु वताउँछन् । शर्माको अप्रत्यासित प्रगति र उनी माथि लाग्ने आरोपका कारण त्यस क्षेत्रका कतिपय जानकारहरुले भने उनलाई मेडिकल माफिया पनि भन्ने गरेका छन् ।
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा प्रधानमन्त्री वनेपछि शर्मा आफनो सवै सम्पत्ति वैधानिक वनाउने प्रकृया सुरु गरेको श्रोतको दावी छ। शर्मा हाल नेपाली कांग्रेस महासमिति सदस्य हुन्। उनलाई नेपाली कांग्रेसले २०७४ मा प्रतिनिधिसभा चुनावमा मोरङ –३ बाट उम्मेदवार बनाएको थियो। उनी तत्कालीन एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका थिए। कांग्रेसमा उनको सम्वन्ध ०६४ देखि गाँसिएको हो । त्यसवेला उनले कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालासँग सम्वन्ध वनाए ।
भयंकर महत्वकांक्षी रहेका शर्माको नेकपा माओवादी केन्द्रसँग पनि राम्रो सम्बन्ध छ। यसै कारण उनी यतिवेला भएभरको सवै सम्पत्तिलाई वैधानिक वनाउने काममा लागेको श्रोतको दावी छ । छोटो समयमा मेडिकल क्षेत्रमा आफनो वर्चश्व वनाउँदै गएका शर्माका विषयमा सम्वन्धित क्षेत्रवाट चासो नलिनु र छानविन नहुनु अर्को आश्चर्य भएको श्रोतको भनाई छ।
यो पनि
मेडिकल माफिया सुनिल शर्माको सर्टिफिकेट नक्कली
लेटाङका ९ कक्षा फेल राजेन्द्र न्यौपाने यसरी भए ‘मेडिकल माफिया सुनिल शर्मा’
‘मेडिकल माफिया’ सुनिल शर्माले धरानको बिपी प्रतिष्ठान डुबाए