News

लोकसेवा आयोगको परिक्षा धमाधम सञ्चालन हुने, कक्षा १२ को परिक्षा अनिश्चित

लोकसेवा आयोगको परिक्षा धमाधम सञ्चालन हुने, कक्षा १२ को परिक्षा अनिश्चित

लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा अब स्थगित नहुने आयोगले जनाएको छ । आयोगले तालिका प्रकाशित गरेको परीक्षाहरु नरोक्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जानकारी दिएकाछन् ।


आयोगले आ.व. २०७६/०७७ र आ.व. २०७७/०७८ मा विज्ञापन भई परीक्षा सञ्चालन हुन बाँकी विभिन्न तहका परीक्षा कार्यक्रम सञ्चालन गरिरहेको छ । आयोगले साउन १५ गतेदेखि असोज २३ गतेसम्म हुने परीक्षा तालिका प्रकाशित गरी परीक्षा सञ्चालन गरिरहेको छ ।


यता राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को परीक्षा स्थगित गरेको छ ।  शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको बोर्डको हो । 


परिस्थिति अनुकूल भएपछि पुनः परीक्षा सञ्चालन गर्ने निर्णय समेत बोर्डले गरेको छ । पुनः हुने परीक्षा बारे १५ दिन अघि जानकारी दिने बोर्डले जनाएको छ । 


लोकसेवा आयोग लगायतका परिक्षा धमाधम सञ्चालन भैइरहेका बेला कक्षा १२ को परिक्षा स्थगित भएपछि राष्ट्रिय परीक्षा बोर्डको आलोचना समेत भएको छ । पूर्वस्वास्थ्य मन्त्री तथा कांग्रेस सांसद गगन थापाले परीक्षा सञ्चालनमा सरकारले एकरुपता नअपनाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । कोरोना संक्रमणको जोखिम रहेको भन्दै कक्षा १२ को परीक्षा स्थगित गर्ने तर अरु परीक्षा भने नरोकिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । 


सोमबार उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्नुपर्यो ।’


 

लोकसेवा आयोगको परिक्षा

विशेष