News

एमालेमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय सदस्यले चुन्ने प्रश्ताव

एमालेमा अध्यक्ष र महासचिव बाहेकका पदाधिकारी केन्द्रीय सदस्यले चुन्ने प्रश्ताव

नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ। 

तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए। पार्टीले उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो।

कार्यालय सचिव शेरबहादुर तामाङ्ले पारित गरिएको प्रस्ताव केन्द्रीय कमिटीमा पेश गर्ने बताए। उनका अनुसार संशोधित नयाँ विधानको प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाइ पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ। 

कार्यालय सचिव तामाङले अध्यक्ष र महासचिव बाहेक अन्य पदाधिकारी महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यले चुन्ने नयाँ व्यवस्था संशोधित विधानमा प्रस्ताव गरिएको जानकारी दिए। 

यसैगरी, केन्द्रीय कमिटी सदस्यको संख्या पनि बढाउने प्रस्ताव गरिएको छ। केन्द्रीय कमिटी २२५ जनाको राख्ने व्यवस्था संशोधित विधानमा गरिएको उनले जानकारी दिए। पार्टीमा उपाध्यक्षको संख्या घटाउने र सचिवको संख्या बढाउने पारित विधानमा उल्लेख छ।     

एमालेको केन्द्रीय कमिटी बैठक अहिले केहीबेरपछि सोही प्रतिष्ठानमा राखिएको छ। स्थायी कमिटीले पारित गरेको विधान संशोधनको प्रस्तावलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ।  

यस्तै, विधानमा प्रदेश कमिटीलाई कार्यकारिणी बनाइनेसमेत उल्लेख गरिएको कार्यालय सचिव तामाङले जानकारी दिए। उनले अहिले बस्ने केन्द्रीय कमिटीले विधान पारित गरेपछि लागू गरिने बताए।   

आउँदो भदौ २७ र २८ गते एमालेको विधान महाधिवेशनको मिति तोकिएको छ । वरिष्ठ नेता माधव नेपाल पक्षले पार्टीको कुनै पनि साङ्गठनिक गतिविधि अघि नबढाउन आग्रह गरिरहेका बेला संस्थापन पक्षले भने विधान महाधिवेशनको तयारीको कामलाई तीव्रता दिएको हो ।  

नेकपा (एमाले) विधान संशोधन

विशेष