News

प्रतिपक्षलाई पेलेरै संसद सञ्चालन, गुरिल्ला शैलीमा रोष्ट्रममा पुगे अर्थमन्त्री

प्रतिपक्षलाई पेलेरै संसद सञ्चालन, गुरिल्ला शैलीमा रोष्ट्रममा पुगे अर्थमन्त्री

सत्ता गठवन्धनले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई पेलेरै प्रतिनिधि सभा सञ्चालन गर्ने नीति अघि वढाएको छ। शुक्रवार एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक निरन्तर अगाडि बढाएका छन्। 

माधव नेपालसहित १४ सांसदको कारबाही रोकेर सभामुखले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले संसद् बैठक अवरोध गरेको हो। बैठकमा एमाले सांसदले सभामुख सापकोटाविरुद्ध निरन्तर नाराबाजी गरिरहे। 

तर, अवरोधकै विच अर्थ मन्त्री जनार्दन शर्माले पेस गरेका तीन वटै अध्यादेश सभामुख अग्नि सापकोटाले बहुमतले स्वीकृत भएको घोषणा गरेका छन् ।

पहिलो बैठक एमाले सांसदको नाराबाजीका कारण १५ मिनेट स्थगित भएपछि दोस्रो बैठक बसेको थियो । एमाले सांसदहरूले अर्थ मन्त्रीको बाटो छेक्न खोजेपछि उनी दौडिएर रोस्टममा पुगे। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद र मर्यादापालकहरुबीच संसद् बैठकमा भएको ठेलमठेलमा संसदको एउटा टेबल भाँचिएको छ। टेबुल भाँचिएपछि सत्तापक्षको पहिलो लहरमा बसेका कांग्रेस सांसदहरु पछाडिको लहरमा गएका थिए। 

एमाले सांसदहरुले अवरोध कायम राखेपनि जनार्दन शर्मा भने बेलको पछाडिबाट घुमेर रोस्टममा पुगेर आर्थिक अध्यादेश टेबुल गरेका थिए। उनले संसदभित्रै ‘गुरिल्ला शैली’ अपनाए ।

उक्त अवरोधलाई छिचोलेर रोष्ट्रममा पुगेका अर्थमन्त्री शर्माले प्रस्तावलाई सोझै पेश गरेका थिए। 

माओवादी केन्द्रका नेतासमेत रहेका शर्मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका विश्वासिला पात्र मानिन्छन्। माओवादी जनयुद्धका बेला सेनाका कमाण्डर रहेका शर्मा यसअघि ऊर्जामन्त्री रहदा पनि उनको कार्यशैलीलाई लिएर चर्चा हुने गरेको थियो। 

आजको बैठकमा शर्माले तीन वटा अध्यादेश पेश गरेर र पारित समेत गराए। यी तीनवटै अध्यादेश पूरा नहोउन्जेल उनी रोष्ट्रमको छेउमै बसिरहे। सहज परिस्थिति हुन्थ्यो भने यी तीनवटा प्रस्ताव र त्यसमाथि उठ्ने प्रश्न लगायतले पूरै दिन लाग्न सक्थ्यो। रोष्ट्रम छेउमा उभिएका मन्त्री शर्माले विपक्षी सांसद प्रेम सुवालले उठाएका प्रश्न उभिएरै टिपेका थिए जसको जवाफ उनले एकदमै छोटो रुपमा दिएका थिए।

संसदमा शर्माको प्रस्तावमा सांसद प्रेम सुवालले विरोधस्वरुप अस्वीकारको प्रस्ताव पेश गरेका थिए। उनको प्रस्तावलाई संसद बैठकले अस्वीकार गरेको छ।
 

सत्ता गठवन्धन नेकपा एमाले प्रतिनिधिसभा जनार्दन शर्मा प्रमुख प्रतिपक्षी

विशेष