News

सदनमा कडा हुने एमालेको संकेत, ओलीले दलको वैठक वोलाए

सदनमा कडा हुने एमालेको संकेत, ओलीले दलको वैठक वोलाए

सभामुख विरुद्ध संसदमै विरोध गर्दै आएको नेकपा एमाले आगामी दिनमा थप कडा रुपमा उत्रने संकेत देखिएको छ । शनिवार वसेको एमाले स्थायी समितिको वैठकले आईतवारका लागि संसदीय दलको वैठक वोलाएको छ। 

प्रायः संसद् अधिवेशन सुरु हुनुअघि संसदीय दलको बैठक बोलाइने गरिएको छ। तर, संसदको अवस्था र सभामुखले खेलेको भुमिकाका विषयमा थप छलफल गर्नु पर्ने र सांसदरुको भुमिकालाई थप स्पष्ट वनाउनु पर्ने भएकाले एमालेले पाँच दिनको अन्तरमा दोस्रो बैठक बोलाएको हो।

एमालेले दलको बैठक आइतबार दिउँसो १२ बजेका लागि बोलाएको छ। एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार सदनमा एमालेका सांसदहरुको भूमिकालाई थप स्पष्ट गर्न बैठक बोलाइएको हो।

उनले भने– ‘संसद्मा नेकपा एमालेका माननीयहरुले खेल्नुपर्ने भूमिकालाई अझै स्पष्ट गर्नको निम्ति भोलि १२ बजे संसदीय दलको बैठक पनि आयोजना गर्ने र माननीय सदस्यहरुलाई पछिल्ला घटनाक्रम र विषयवस्तुहरुमा थप स्पष्ट गर्ने तथा भूमिकालाई स्पष्ट गर्ने कुरा पनि आजको बैठकले गरेको छ।’

एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाइरहेको छ। तर, सभामुखले भने प्रतिपक्षीलाई पेलेरै सदनको कारबाहीलाई अगाडि बढाएका छन्। शुक्रबार मात्रै एमालेको अवरोधकाबीच बजेट सम्बन्धी अध्यादेश स्वीकृत गरी प्रतिस्थापन विधेयक प्रस्तुत गरिएको थियो।

एमालेका सचिवसमेत रहेका भट्टराईले एमालेको विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाले सहयोगी भूमिका खेलेकोप्रति आपत्ति जनाएका छन् ।

सभामुख निष्पक्ष हुनुपर्नेमा सापकोटा सत्तापक्षमा लागेको भट्टराईको आरोप थियो । एमाले विभाजनका क्रममा जोडिएका सभामुखले पदीय आचरणअनुसार काम नगरेको भट्टराईको भनाइ छ । संसद् सुचारु गर्नका लागि सत्तापक्षले सहज वातावरण बनाउनुपर्ने र त्यसको सहजीकरणको काम सभामुखले गर्नुपर्ने भट्टराईको सुझाव थियो । उनले अहिलेको प्रतिपक्षी दलसँग सभामुख सापकोटाले कुरा गर्नुपर्ने बताए ।

नेकपा एमाले स्थायी समिति वैठक संसदीय दलको वैठक

विशेष