News देश राजनीति

एमाले स्थायी कमिटी बैठक बस्दै, सभामुख विरुद्ध ठोस निर्णय आउने

एमाले स्थायी कमिटी बैठक बस्दै, सभामुख विरुद्ध ठोस निर्णय आउने

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ। शुक्रबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक प्रतिनिधिसभा बैठकका कारण स्थगित भएको थियो।

बैठककालागि विधान महाधिवेशन र चालु संसद्मा पार्टीको भूमिका गरी दुईवटा मुख्य एजेण्डा तय गरिएको छ। असोज ४ देखि ६ गतेसम्म काठमाडौंमा विधान महाधिवेशन गर्ने तयारी गरेको एमाले प्रतिनिधि, दस्तावेज तथा व्यवस्थापनको तयारीमा जुटिसकेको छ।

यसैगरी, पार्टी विभाजनको सन्दर्भमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर एमालेले प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अवरोध गर्दै आएको छ। एमाले संसदीय दलले पार्टीले कारबाही गरेका १४ जनालाई सांसदको रुपमा स्वीकार नगर्ने निर्णय नै गरेको छ। सो विषयमा आजको वैठकले ठोस निर्णय गर्न सक्ने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

अवरोधकै विच शुक्रवार सभामुखले संसद संचालन गरेपछि एमाले थप उग्र भएको छ । सत्ता र प्रमुख प्रतिपक्ष दलले एकअर्कालाई दबाबमा पार्ने रणनीति लिँदा आपसमा मुठभेड बढ्ने देखिएको छ । प्रमुख प्रतिपक्ष एमालेले आफ्नो चासो सम्बोधन नभएसम्म प्रतिनिधिसभा बैठकलाई सहज रूपमा चल्न नदिने भएको छ । सत्ता गठबन्धनका दलले भने ‘प्रतिपक्षले विरोध गरे पनि आफ्नो काम अघि बढाउने’ निर्णय गरेको छ ।

बुधबार र शुक्रबार संसद् बैठकमा देखिएको दृश्यले पनि सत्तापक्ष र विपक्षीबीच तत्काल सहमति नभए आगामी बैठक थप जटिल हुने संकेत गरेको छ । तर, दुवै पक्षमा संवादको अवस्था पनि देखिएको छैन ।

संसद् अधिवेशन सुरु हुनुअघि नै प्रधानमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग सम्बन्ध सुधार गर्न खोजेका थिए । तर त्यसमा प्रगति नभएपछि विपक्षीलाई विश्वासमा लिनतिर लाग्नुको साटो पेलेरै अघि बढ्ने मनस्थितिमा सत्तापक्ष पुगेको हो ।

आफ्नो पार्टी विभाजनकै लागि सरकारले हठात् संसद् अधिवेशन अन्त्य गरेर साउन ३२ मा राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको भन्दै एमाले आक्रोशित छ । ओली एकीकृत समाजवादी पार्टीको संसदीय अस्तित्व स्वीकार गर्न तयार छैनन ।

आफ्ना १४ सांसदलाई कारबाही गरिएको पत्र पठाए पनि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त भएको सूचना ननिकालेको भन्दै एमाले आक्रोशित छ । बुधबार एमाले संसदीय दलको बैठकमा ओली र संसद् बैठकमा एमालेका प्रमुख सचेतक विशाल भट्टराई सभामुखमाथि खनिएका थिए । 

नेकपा एमालेको स्थायी कमिटी बैठक

विशेष