News अर्थ देश

प्रदेश मन्त्री, जसलाई आफनो सम्पत्ति कति छ भन्ने पनि जानकारी छैन

प्रदेश मन्त्री, जसलाई आफनो सम्पत्ति कति छ भन्ने पनि जानकारी छैन

गण्डकी प्रदेश सरकारका मन्त्रीहरुले ९ भदौमा सम्पत्ति विवरण सार्वजनिक गरे। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमार्फत् ११ मध्ये ९ जना मन्त्रीको मात्रै सम्पत्ति विरण सार्वजनिक गरिएको छ।

सार्वजनिक गरिएको विवरणअनुसार मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले २५ लाख रुपैयाँ ऋण देखाएका छन् । प्रदेशसभा सदस्य भएपछि प्राप्त तलब वापतको पाँच लाख नगद, पोखरेलसँग पाँच तोला सुन, श्रीमती लता पोखरेलको नाममा गैँडाकोटमा २० लाख रुपैयाँको एउटा घर र काठमाडौं र तनहुँमा जग्गा रहेको उल्लेख छ ।

कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा सबैभन्दा धनी देखिएका छन् । उनको नाममा पोखराका विभिन्न ६ ठाउँमा घर, जग्गा, विभिन्न वित्तिय संस्थामा लगानी तथा बचत छ । युवा तथा खेलकुदमन्त्री राजिव गुरुङ (दिपक मनाङे) र कृषिमन्त्री चन्द्रबहादुर बुढाले भने सम्पत्ति विवरण वुझाएका छैनन् ।

दुई मध्ये मनाङले आफ्नो सम्पत्ति कति छ भन्ने नै जानकारी नभएको प्रतिक्रिया दिएका छन् । आईतवार पोखरामा पत्रकार सम्मेलन गरेका मनाङेले भने – ‘म आफै कन्फ्युज छु कि मसँग के छ, के छैन भन्ने कुरा । मसँग सम्पत्ति छ, छैन भन्न मिल्दैन । तर, कहाँ छ भन्दा, फर्स्ट वाइफलाई दिइसकेको छु, छोराहरूका नाममा राखिएको छ । अब त्यसलाई मेरो भनुँ भने समस्या आउँछ।’

मनाङे गण्डकी प्रदेशको युवा तथा खेलकुदमन्त्री नियुक्त भएको आइतबार ६० दिन पुगेको छ । भ्रष्ट्राचार निवारणसम्बन्धी ऐन, २०५९ अनुसार पदभार सम्हालेको दुई महिनाभित्र उनले सम्पत्ति विवरण सार्वजनिक गरिसक्नुपर्ने हो । तर, मन्त्री मनाङेले त्यसो गरेका छैनन।

तेस्रो पटक मन्त्रालय सम्हालेको ६० दिन पुगेको अवसरमा उनले आफूले गरेको काम र आगामी योजना सुनाए । तर, सम्पत्ति विवरणको कुरामा चासो देखाएनन् । ‘केटा’ हरुलाई थुप्रै लगानी गरिदिएको तर, त्यताबाट फिर्ता नआएको उनी बताउँछन्। आफुसँग भएको पुरानो सम्पत्तिमा पनि मुद्दा रहेको उनले वताए । उनको वारेमा जानकारहरुले भने सम्पत्ति विवरण सार्वजनिक गर्दा श्रोत खुलाउनु पर्ने र लुकाउन पनि नमिल्ने भएकाले विवरण नै नवुझाएको वताएका छन् ।

गण्डकी प्रदेश सम्पत्ति विवरण दिपक मनाङे

विशेष