News राजनीति

भीम रावल र योगेशलाई ओलीको जवाफ – हुबहु जेठ २ मा फर्किन सकिँदैन

भीम रावल र योगेशलाई ओलीको जवाफ – हुबहु जेठ २ मा फर्किन सकिँदैन

नेकपा एमाले भित्र १० वुँदे कार्यान्वयनको विषयमा खटपट सुरु भएको छ । पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने र पुरानो जिम्मेवारी पाउने आशामा एमालेमा घुलेका तेस्रो धारका नेताहरु अध्यक्ष केपी शर्मा ओलीका कारण विचल्लीमा परेका छन् ।

सहमति कार्यान्वयन नहुँदा सवै भन्दा ठुलो तोड उपाध्यक्ष भीम रावल र युवा नेता योगेश भट्टराईलाई परेको छ । नेकपा एमाले जेठ २ मा फर्काउने १० बुँदे कार्यान्वयन हुँदा सुदूरपश्चिम इञ्चार्ज भीम रावल र पार्टीको प्रवक्ता योगेश भट्टराई हुनुपर्ने हो । तर, अध्यक्ष ओलीले इन्चार्जमा लेखराज भट्ट र प्रवक्तामा प्रदिप ज्ञवालीलाई च्यापेपछि रावल र भट्टराई जिम्मेवारीविहीनको अवस्थामा पुगेका छन् ।

नेकपाको एकता खारेज भई एमाले र माओवादी पूर्ववत अवस्थामा फर्किएपछि एमालेले भट्टलाई सुदूरपश्चिम इञ्चार्जको जिम्मेवारी दिएको थियो । त्यतिबेला रावल भने माधव नेपाल समूहमा थिए। तत्कालिन वरिष्ठ नेता माधवकुमार नेपाल समूहले रावललाई नै सुदूरपश्चिमको इञ्चार्ज यथावत राखेको थियो ।

तर, रावल एमालेमा आएपछि सुदूरपश्चिमको जिम्मेवारीलाई लिएर भट्ट र रावलबीच विवाद वढ्यो । त्यसको छिनोफानो गर्न बालकोटमा छलफल भएको भयो। उक्त छलफलमा अध्यक्ष ओलीले पार्टीको अहिलेको प्रदेशको जिम्मेवारी हेरफेर नहुने भन्दै भट्ट नै सुदूरपश्चिमको इञ्चार्ज हुने प्रष्ट पारे। ओली पक्षका नेताहरुले अप्ठेरो अवस्थामा पार्टीको पक्षमा उभिएको भन्दै अहिले भट्टको जिम्मेवारी खोस्न नहुनेमा जोड दिएका थिए ।

रावलले भने १० बुँदे सहमति स्मरण गराउंदै जेठ २ को संगठन क्रियाशील हुँदा आफू इञ्चार्ज हुनुपर्ने माग गरे भने ओलीले भने हुबहु जेठ २ मा फर्किन नसकिने प्रष्ट पार्दै सबैतिर सबै नेताका जिम्मेवारी हेरफेर नहुने बताए । जेठ २ कार्यान्वयनको लागि उपाध्यक्षको हैसियतमा रावललाई संयोजनकारी भूमिका खेल्न पनि ओलीले आग्रह गरेको वताईन्छ।

यसैगरी, जेठ २ को अवस्थामा फर्किदा पार्टीको प्रवक्ता युवा नेता भट्टराई हुन । तर, उनी माधव समुहमा लागेपछि ओलीले प्रवक्तामा ज्ञवालीलाई नियुक्त गरे । अहिले आएर ओलीले भट्टराईलाई प्रवक्ताको जिम्मेवारी दिन इन्कार गरेका छन् । त्यसपछि योगेशको अवस्था ‘ओल्लो घाट न पल्लो किनार’ जस्तो भएको छ ।

ओलीले वेवास्ता गरेपछि उनी स्वयमले आफु पार्टीको प्रवक्ता नरहेको बताउन थालेका छन् । ‘सर्वोच्च अदालतबाट एमाले ब्युँतिएपछि हाम्रो लाईन पार्टीलाई २ जेठ २०७५ मा फर्काउनुपर्छ भन्ने थियो । त्यस समय हाम्रो पार्टीमा प्रवक्ता तोकिएकै थिएन । म प्रचार विभागको प्रमुख थिएँ’ भट्टराईले भनेका छन्–‘यही विभागमार्फत पार्टीका जानकारीहरु प्रवाह हुने गरेकाले धेरैलाई म प्रवक्ता हुँ भन्ने लागेको थियो ।’

सर्वोच्चको फैसलाबाट २३ फागुनमा माओवादी र एमाले ब्यूँतिएको र त्यसपछि मात्रै प्रवक्ता पद सिर्जना भएको वताएका उनले प्रदीप ज्ञवाली नै प्रवक्ता रहेको वताउँन थालेका छन् । तर, प्रवक्ताको जिम्मेवारी पाउने आशा भने उनले अझै छोडेका छैनन् । ‘अब उहाँ प्रवक्ता हुने कि म हुने भन्ने कुरा बैठकले टुंग्याउँला । अहिले यो काम उहाँले नै गर्नुहुन्छ, प्रचार विभागको काम म गर्छु’– उनी भन्छन् ।

केही नेताले भने पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीले स्वीकार गरिसकेको १० बुँदे कार्यान्वयनमा उदासीनता देखाएर अध्यक्ष ओली एक्लै हिँड्न खोजेको आरोप लगाउन थालेका छन् । पार्टी एकताको पक्षमा उभिने आफूहरुको इमान्दार प्रयासलाई कमजोरी ठानिएको उनिहरुको गुनासो छ। नेताहरुको जिम्मेवारी खोसेर ओलीले ‘विष निकालेको सर्प’ जस्तो वनाएको एक नेताले वताए ।

नेकपा एमाले १० वुँदे सहमति २०७५ जेठ २ केपी शर्मा ओली भीम रावल योगेश भट्टराई

विशेष