News देश

बुटवल–नारायणघाट सडक : ४ वर्षमा सकिनु पर्ने कामको प्रगती ३ वर्षमा ८ प्रतिशत

बुटवल–नारायणघाट सडक : ४ वर्षमा सकिनु पर्ने कामको प्रगती ३ वर्षमा ८ प्रतिशत

चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरि कर्पोरेसनले ठेक्का लिएको पूर्व पश्चिम राजमार्गको बुटवल नारायणघाट खण्ड चौडा पार्ने कामको समय सिमा सकिनै लागेको छ। तर, कामको गति भने कछुवा गतिमा अघि बढिरहेको छ।

बुटवल–नारायणघाट सडक आयोजनाका अधिकारीहरुका अनुसार ४ वर्षमा सम्पन्न गर्नु पर्ने काम तीन वर्ष सकिदा करिब ८ प्रतिशत मात्र काम सम्पन्न भएको छ। यस कारण समयमा काम सम्पन्न नहुने निश्चित छ।

फेव्रुअरी २०१९ मा सडक विभागले सडक परियोजना कार्यान्वयन गर्न चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरि कर्पोरेसनसँग सम्झौता गरेको थियो। योजनाअनुसार विद्यमान दुई लेनको ११४ किलोमिटर सडक चार वर्षभित्र ६ लेनमा विस्तार गरिनेछ।

‘तीन बर्षमा मात्र ८ प्रतिशत काम सम्पन्न गरी सडक आयोजना कसरी समयमै पूरा गर्न सकिन्छ?’ बुटवल नारायणघाट सडक आयोजनाका एक इन्जिनियरले भने। उनका अनुसार समयमा काम सम्पन्न नहुनुमा ठेकेदारको लापरवाही जिम्मेवार मानिन्छ।

ठेकेदारले बुटवल नारायणघाट सडकको दाउन्ने–गैडाकोट ४८ किलोमिटर र दाउन्ने– बुटवल ६६ किलोमिटर गरी दुई खण्डमा काम गरिरहेको छ। ११४ किलोमिटर बुटवल–नारायणघाट सडक विस्तारको काम एसियाली विकास बैंकको १७ अर्ब रुपैयाँ ऋण सहयोगमा शुरु गरिएको थियो।

चिनियाँ ठेकेदार अन्तर्गत परियोजनामा काम गरिरहेको कोरियन इन्जिनियरि कर्पोरेसनले कोविड १९ महामारीको कारण निर्माण कार्य ढिलो भएको भन्दै परियोजनाको म्याद एक बर्ष बढाउने पैरवी गरेको छ।

बुटवल–नारायणघाट सडक आयोजनाका इन्जिनियर कृष्ण आचार्यले पनि चिनियाँ ठेकेदारले म्याद थप्ने प्रस्ताव राखेको पुष्टि गरे। उनका अनुसार ठेकेदारले पहिलेको सम्झौता अनुसार सडकको काम पूरा गर्नुपर्नेमा नेपाली अधिकारीहरुको स्पष्ट धारणा छ। ‘अन्य देशहरुमा केहि ठूला परियोजनाहरु पूरा गरेको प्रतिष्ठित कम्पनीले यसरी ढिलाई गर्नु आश्चर्यजनक छ। सडक विभाग परियोजनामा प्रगति नभएकोले चिन्तित छ’ –आचार्यले भने।

सडकमा धेरै खाल्डाहरु भएका कारण बुटवल–नारायणघाट सडक खण्ड अहिले दुर्घटनाको चपेटामा परेको छ । जसको मुख्य कारण सडक चौडा गर्ने काम हो। तर ठेकेदारले खाडल भर्न अस्वीकार गरेको छ। सडकको मुख्य बजार क्षेत्रहरुमा समेत क्षति पुगेको छ।

ठेकेदारका प्रतिनिधिहरुसंग धेरै पटक छलफल गर्दा पनि सडकको अवस्था सुधार नभएको नवलपरासी (पूर्व) का सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले वताए । जिर्ण भएको सडक तत्काल मर्मत गर्नुपर्ने अवस्था रहेको उनको भनाई छ। दशैं र तिहारको समयमा सवारी साधनको आवागमनमा उल्लेखनीय बृद्धि हुने र त्यसले अझै दुर्घट्ना थप्ने उनको मुल्यांकन छ।

बुटवल नारायणघाट सडकको दाउन्ने खण्ड पनि खाल्डाखुल्डीले भरिएको छ। जसका कारण ट्राफिक जामको समस्या पनि उत्तिकै रहेको सवारी चालकहरु वताउँछन् । ३२ किलोमिटर कावासोती नारायणघाट खण्ड पार गर्न झण्डै तीन घन्टा लाग्ने गरको एक चालकले वताए । 

जनप्रतिनिधिहरुले पनि सडक मर्मतमा ठेकेदारले लापरवाही गरेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका छन् । 

सडक चौडाई र मर्मत सम्भारको काममा भएको ढिलाइको बारेमा सोध्न चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरि कर्पोरेशनका कन्ट्र्याक्ट म्यानेजर युआन जेनकुनलाई सम्पर्क गर्ने प्रयास गरे पनि उनले कुनै टिप्पणी गर्न चाहेनन् ।

बुटवल–नारायणघाट सडक

विशेष