News विदेश

अफगान सरकार विरुद्ध लड्न तालिवानलाई पाकिस्तानले सघाएको खुलासा

अफगान सरकार विरुद्ध लड्न तालिवानलाई पाकिस्तानले सघाएको खुलासा

२० वर्षको लामो युद्धपछि तालिवानले अफ्गानिस्तानलाई आफनो कब्जामा लिएको छ। यो अवधिमा तालिवानलाई औपाचारिक/आनौपचारिक रुपमा पाकिस्तानले सहयोग गर्दै आएको छ। यद्यपी पाकिस्तानले भने यो विषयलाई सर्वथा इन्कार गर्दै आएको छ।

तर, कतिपय प्रकरणले भने अफगान सरकारविरुद्ध लड्न पाकिस्तानले तालिबानलाई सहयोग गरेको पुष्टि हुँदै गएको छ। हिन्दूस्तान टाइम्सको एक रिपोर्ट अनुसार हाल तालिबानका उपप्रधानमन्त्री मुल्ला अब्दुल गनी बरादरको आजीवन पासपोर्ट र पहिचान कार्ड पाकिस्तानवाट नक्कली नाममा रजिस्टर भएको पाइएको छ।

यसबाट काबुल कब्जा गर्न तालिबानलाई पाकिस्तानी खुफिया संस्था आईएसआईको साथ रहेको केही हदसम्म सत्य सावित भएको छ। पाकिस्तानले बरादरकोे पासपोर्ट मुहम्मद आरिफ अघाको नाममा बनाइए दिएको खुलासा भएको छ। जसमा उनका पिताको नाम सैयद एम नजीर अघा राखिएको छ।

सिरियल नम्बर ४२२०१–५२९२४६०–५ भएको पाकिस्तानको लाइफटाइम आइडेन्टीटी कार्डमा सन् २०१४ को जुलाई १० मा जारी गरिएको छ। त्यहाँ बरादरको जन्ममिति १९६३ भनेर उल्लेख गरिएको छ। राष्ट्रिय पहिचान कार्डमा पाकिस्तानका रजिस्ट्रार जेनेरलको हस्ताक्षर रहेको छ।

बरादरको पाकिस्तानी पासपोर्टको नम्बर जीएफ ६८०१२१ रहेको छ। पासपोर्टको जारी मिति र राष्ट्रिय पहिचान कार्डको जारी मिति एउटै छ। सैयद एम नजीर आगाका छोरा मोहम्मद आरिफ आगाको नाममा बरादारको राष्ट्रिय परिचय पत्र जारी गरेको थियो।

त्यतिमात्र हैन अन्य धेरै तालिबानी नेताहरुसँग पाकिस्तानको पासपोर्ट र पहिचान पत्र रहेको बताइएको छ। तर तालिबानका प्रमुख नेता हिबतुल्लाह अखुन्दजादासँग पाकिस्तानी नागरिकता छ वा छैन भन्नेबारे खुलासा भएको छैन।

मुल्लाह अखुन्दजादा काबुलमा भएको बताइएपनि उनी हालसम्म सार्वजनिक भएका छैनन्। उनी पाकिस्तानको कराँचीमा रहेको कन्टोन्मेन्टमा कडा सुरक्षाकाबीच बस्दै आएका थिए। 

तालिवान पाकिस्तान अफ्गानिस्तान कब्जा हिन्दूस्तान टाइम्स मुल्ला अब्दुल गनी बरादर

विशेष