महेश वस्नेतको दावी– प्रचण्डले अन्तिम क्षणमा रुने मान्छे पनि पाउँदैनन
नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ उनले भने जस्तै एक्लो हुने वताएका छन् । राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमीटीले सोमबार साँझ बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले यस्तो वताएका हुन ।
‘पछिल्लो समय माओवादी अध्यक्ष प्रचण्डका अभिव्यक्ति आफू एक्लिएको बताउँदै हिंड्न थालेका छन्, त्यो वास्तविक हो’ उनले भने–‘प्रचण्डले जीवनको अन्तिम क्षणमा पुग्दा रुने मान्छे पनि नपाउने अवस्थामा पुगेका छन् । यो हामीले होइन प्रचण्ड आफैले एक्लिएको महशुस गरिसकेका छन् ।’
प्रचण्डले आइतबार राजधानीमा आयोजित ‘नेपाली कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको विमोचन कार्यक्रममा क्रान्तिकारी पार्टीको नेतृत्व गरे पनि एक्लै पर्न सकिने भन्दै चिन्ता व्यक्त गरेका थिए । ‘माओ त्सेतुङले श्रीमतीको पनि विश्वास छैन भन्नुभयो । कहिले काहीँ मलाई पनि यस्तै यस्तै हुँदो रैछ । म एक दुई–वर्षपछि एक्लो पो हुने हो कि ! माओले जस्तै म पनि एक्लै छु भन्नुपर्ने हो कि ! कहिलेकाहीँ त्यस्तो चित्र पनि दिमागमा आउँछ’– उनले भनेका थिए ।
आफ्नो पुस्ताको नेतृत्व अन्तिमसम्म पदमा बस्न मन नभएको पनि उनले वताएका थिए । नयाँ संश्लेषण विना क्रान्तिलाई अगाडि लैजान नसकिने भन्दै उनले ‘अहिले तीन टुक्रा भएर गलत भयो भनेर यति यान्त्रिक र अवस्तुवादी विश्लेषण सही हुँदैन । त्यहाँभित्र पनि एउटा विषय थियो र उद्देश्य थियो । त्यहाँभित्र कस्तो बहस चल्यो भन्ने त एउटा समीक्षाको जरुरी छ’ भने।