News राजनीति

सांसद आशा विकलाई जनमुक्ती सेनाका लडाकुको खुल्ला पत्र

सांसद आशा विकलाई जनमुक्ती सेनाका लडाकुको खुल्ला पत्र

माननीय आशा विक दिदी, क्रान्तिकारी अभिवादन !
पार्टीको बफादार कार्यकर्ता भएर शुक्रबार संसदमा देखाउनु भएको ताण्डब नृत्यको बारेमा केही कुरा खुल्दुली भयो । मेरो अभिव्यक्ति स्वतन्त्रताको हकलाई प्रयोग गर्दै एउटा खुल्ला पत्र तपाई समक्ष सम्प्रेषण गर्न चाहान्छु । 

म आफुलाई तपाईंको बिरोधी भन्दा पनि फरक पार्टीको सदस्य भन्छु। यो पत्र म तपाईंको बिरोध गर्नकोलागि मात्रै लेखिरहेको छैन । स्वभाविक रुपमा हिजो तपाईंको र मेरो पार्टी फरक थियोे । आज पनि फरक छ । तर यी कुरालाई म प्रथमिकतामा राख्दिन । जनवर्गीय मुक्तिमार्गमा तपाईं हामी सहयोद्धा हौँ । तपाईंसँग वर्गीय नाता छ । कमरेडली भावना छ । सद्भाव छ, क्षेत्रीयताको नाताले पनि अझै हामी नजिक छौँ । 

सुदरपश्चिमबाट युवा प्रतिनिधित्व गर्नसक्ने आशा, भरोसा तथा जनताको मनोभावना बुझ्न सक्ने आशाको सुनौलो बिहानीको उषाकिरण हो तपाई । तपाइले जनप्रतिनिधि भएर संसदमा बोलेका दमदार स्वरहरुलाई अवमुल्यन गर्न सकिदैन । सदनमा सुत्नेहरु भन्दा पक्कै पनि तपाइको भुमिका महत्वपुण नै रह्यो । विभिन्न सवालहरुको अध्ययन गरेर सदनसम्म पुर्याउने तपाइलाई मेरो तर्फबाट हार्दिक नमन । 

यद्यपी पछिल्लो चरणमा आईसकेपछि सदनमा तपाईंले निकै अशोभनिय हर्कत प्रर्दशन गर्नु भयो ।  बिरोध नगर्ने होइन, गर्नुपर्छ । त्यसको औचित्य के हो भन्ने कुराले फरक पार्दछ । पार्टीप्रति बफादार हुनु कर्तव्य हो । तर पार्टीले गरेका हरेक निर्णयमा आँखा चिम्म गरेर कार्यान्वयनमा जादा भईपरी आउने समस्याको जिम्मेवार हुनु पनि पर्दछ । 

त्यतिमात्रै नभएर अनावश्यक वफादारी आत्मघाती पनि हुनसक्छ । हो तपाईंले चालेको सदन भित्रको कदम तपाईंको लागि आत्मघाति नै हो । हरेक चिजको मौसम हुन्छ। समयसिमा हुन्छ । तपाइले उग्र विरोध जनाउनु भयो तर त्यो भन्दा पहिले र्बिचार गर्नु पर्छ कि पर्दैन? त्यसको असर त जनमुखी बजेट कार्यक्रममा पर्न गयो । अहिलेको लागि के माधव नेपाल नै राष्ट्रिय समस्या हुन त? माधवलाई कारबाही गर्दैमा सबै समस्याको हल हुन्छ त? के जनताको माग यहि हो त?

माधवलाई कार्बाही गरेपछि देश र जनताले मुक्ति पाउँछन् त? देश र जनताको दुश्मन माधव नै हो त? अँह कदापी होइन । दुश्मनी हो त केबल माधब नेपाल र केपी ओलीबीचको । जुन विषयसँग जनताको कुनै सम्बन्ध नै छैन त्यस्ता बिषयलाई लिएर संसद जस्तो गरिमामय स्थानमा संसदको नियमित कारबाही नै असर पार्ने गरि बहिष्कार, अवरोध गर्नु गैर जिम्मेवारीपुर्ण हो । त्यस्तै गैर जिम्मेवारीपुर्ण हर्कतको लागि आफ्नो अस्तित्व नै नामेट हुनेगरी उफ्रिनु कत्तिको उचित लाग्छ?

जोसमा होस गुमाउँदा अथवा भनौ सतही चर्चामा रम्न खोज्दा अझै भनौ भाइरल हुन खोज्दा यसपाली नराम्ररी पछारिनु भयो । यसरी पछारिनु भयो की पक्कै पनि माथि उठेर लयमा फर्किन अवश्य समय लाग्ने छ । जुन ठाउँमा जनताको माग र आवश्यकता बाहिरको विषयवस्तुको लागि तपाई उफ्रिनु भयो, त्यसै ठाउँमा एमसीसी जस्तो राष्ट्रघाती सम्झौताको बिरुद्ध उफ्रेको भए जनताले धन्यवाद दिन्थे । तर तपाइ त माधव नेपाललाई कारबाही गर भनेर उफ्रिनु भयो । तपाईमा हिम्मत भए भ्रष्टाचारको बिरुद्धमा उफ्रिनुस् ।  तपाइको प्रदेशकी निर्मला पन्तको न्यायको लागि उफ्रिनुस् । स्वर्गिय नेता मदन भण्डारीको न्यायको लागि उफ्रिनुस् । गरिव र पिछडिएका वर्गका लागि उफ्रिनुस् । धर्म निरपेक्षताको विरुद्धमा, संघियताको विरुद्धमा तपाईंको पार्टीले धावा बोल्दै छ, त्यसको विरुद्धमा उफ्रिनुस् । हिम्मत छ?

फरक दृष्टिकोणबाट भन्नू पर्दा म हिजोको जनयुद्धको योद्धा भएको नाताले पनि तपाईं सफल हुनुमा मेरो पनि सफलता देख्छु । तपाईं समानुपातिक सांसद मनोनित भएकोमा मँ मैले गरेको जनयुद्ध कै सफलता  देख्छु । पार्टी जुनसुकै भएपनि हाम्रो लडाइ या उफ्राइ जे सुकै भनौँ त्यो पिछडिएको वर्ग, आदिबासी, जनजाति, दलित, महिला, उत्पिडित समुदायको लागि हुनुपर्छ । 

पिछडिएको वर्ग, आदिबासी, जनजाति, दलित, महिला  दलित, उत्पिडित समुदायले अधिकार पाउनु पर्छ भन्ने हाम्रो युद्धकालिन माग हो । देशमा महिला राष्ट्रपति हुँदा मलाई खुशी लागेको छ । म जस्तै हजारौ साथिहरुले देशको राष्ट्रपति महिला हुनुपर्छ भनेर रगत बगाएका छौँ । हजारौ साथिहरु शहिद भएका छन् । उनिहरुले देखेका सपना छन् । त्यसैले संसदिय मर्यादा कायम गरिदिनुस् । जनताको मतको कदर गरिदिनुस् । व्यक्तिगत स्वार्थपुर्तीकै लागि प्रतिगमनको मतियार नभइदिनुस् । व्यक्तिगत स्वार्थपुर्तीकै लागि अन्धभक्त नभइ दिनुस् । तपाइलाई विन्ति छ । 

गजेन्द्र रोकाया
जनयुद्धकालको माओवादीको लडाकु दस्ता जनमुक्ति सेनाको सिपाही

आशा विक जनमुक्ती सेना खुल्ला पत्र

विशेष