News

सभामुखलाई एमालेले भन्यो– १४ सांसदलाई कारवाही गरेको सूचना टाँस्नोस वा मार्गप्रशस्त गर्नोस

सभामुखलाई एमालेले भन्यो– १४ सांसदलाई कारवाही गरेको सूचना टाँस्नोस वा मार्गप्रशस्त गर्नोस

नेकपा एमाले सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ। 

एमालेका मुख्य सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको भनिएको सर्वदलीय बैठकमा पार्टीको सहभागिता नहुने जानकारी दिए। ‘सत्तापक्ष र प्रतिपक्षबीचको बैठक छलफल भएमा हामी भाग लिन्छौं,’ उनले भने, ‘तर, सभामुखले बोलाएको सर्वदलीय भनिएको बैठकमा सहभागिता हुँदैन।’ 

एमाले कारबाही गरेका सांसदहरुले सनाखत गरेर गठन भएको दललेसमेत भाग लिने बैठकमा आफूहरुको सहभागिता नरहने एमालेले प्रष्ट पारेको हो। 

एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्न वा मार्गप्रशस्त गर्न माग गरेको छ । सभामुखलाई उक्त विषय भेटमार्फत् गराएको सचेतक भट्टराईले वताएका छन् ।

‘सभामुखलाई भेटेरै एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त भएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न भनेका छौं । हाम्रो पार्टीको बटमलाइन यही हो’ भट्टराईले भने–‘हाम्रो माग पूरा नहुँदासम्म बैठकमा जाँदैनौं । संसद्मा अवरोध यथावत रहन्छ।’

एमालेले माधवकुमार नेपाल नेतृत्त्वको नेकपा (एकीकृत समाजवादी)लाई अवैधानिक पार्टी भन्दै आएको छ । सो पार्टी सहभागी हुने भएपछि एमाले सर्वदलीय बैठकमा नजाने निर्णय गरेको कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
 
सभामुख सापाकोटाले आज संसद्मा प्रतिनिधित्व गर्ने दलसँग छलफल गर्न दिउँसो साढे दुई वजे सर्वदलिय वैठक वोलाएका छन् । उनले आफ्नो नियत गलत नभएको बताएका छन् ।

नेकपा एमाले अग्निप्रसाद सापकोटा सर्वदलीय बैठक

विशेष