News अर्थ

‘स्टन्ट’मा उत्रिए अर्थमन्त्री, भन्छन्– मलाई प्रलोभन आयो !

‘स्टन्ट’मा उत्रिए अर्थमन्त्री, भन्छन्– मलाई प्रलोभन आयो !

सामान्यतयाः जनताको नजरमा पर्न र नेताहरुलाई रिझाउन कतिपय अवस्थामा दलका नेता/कार्यकर्ताले ‘स्टन्ट’ देखाउँछन् । सम्भवतः राजनीतिमा जति स्टन्ट सायदै कहीँ हुँदो हो !

यसैको अनुसरण गर्दै ०७७ फागुनमा वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफूलाई एक अर्ब रुपैयाको प्रलोभन आएको भन्दै हल्ला पिटाए । सामुदायिक वन उपभोक्ता महासंघको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा आलेले आफुलाई बैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन आएको खुलासा गरे।

०७७ माघ ११ गते बसेको मन्त्रीपरिषद् बैठकले बैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरिसकेको थियो । त्यसको ठिक एक महिनापछि विभागीय मन्त्रीले नै आर्थिक प्रलोभन देखाईएको बताएपपछि सर्वसाधारण अचम्ममा परे । काठ व्यवसायी र बनका केही बद्मास कर्मचारीले आफुलाई प्रलोभन दिएको वताएका मन्त्रीले त्यस विरुद्ध कुनै कारवाही भने गरेनन् । त्यसैले उनको यो हल्ला सार्वजनिक खपतको लागि मात्र थियो भन्ने कुरामा कुनै दुविधा रहेन।

तत्कालिन वन मन्त्रीकै सिको गर्दै अर्थमन्त्री जनार्दन शर्माले पनि आफुलाई फकाउने प्रयास भईरहेको वताएका छन् । आन्तरिक राजश्व विभागको दुई दिने व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले ‘मलाई कतिपयले प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन्। म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन। त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु’ भन्दै उनले भाषण ठोकिदिए ।

मन्त्री शर्माले पनि कसैको नाम भने उल्लेख गरेका छैनन् । तर, उनले बजेटसम्बन्धी प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगलाई प्रोत्साहन हुने गरी गरिएका नीतिगत व्यवस्थाहरु परिवर्तन नहुने वताउनुले त्यसैसँग सम्वन्धित कुनाकाप्चावाट प्रलोभन आएको हुन सक्ने आँकलन छ। 

तर, कतिपयले भने सार्वजनिक खपतका लागि उनले यस्तो वोलेको हुन सक्ने वताएका छन् । ‘अर्थमन्त्री जस्तो ओहदामा वसेर आफुलाई प्रलोभन आएको, धम्की दिएकोलगायतका कुरा गर्नु नै आश्चर्यजनक छ’ अर्थमन्त्रालयकै एक कर्मचारी भन्छन–‘यो सरासर भ्रामक कुरा हो । यदि त्यस्तो प्रलोभन आएको हो भने कठालो समातेर कारवाही गर्ने की वाजागाजासहित गीत गाउँदै हिड्ने ?’

मन्त्री भएको मान्छेले सामान्य नागरिक सरह यस्ता हावादारी कुरा गर्दै हिडन नसुहाउने उनको भनाई छ। ‘म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन’ भन्नुले नै उनी जनताको नजरमा हिरो वन्न खोजेको पुष्टि हुने कतिपय कर्मचारीकै विश्लेषण छ।

मन्त्री शर्माको विगतनै विवादीत रहेकाले मौका पाएका वेला जनताको नजरमा आफुलाई देशभक्त देखाउने प्रयास गरिएको हुन सक्ने उनीहरु वताउँछन् ।

जनयुद्धकालमा तत्कालीन माओवादीले गठन गरेको ‘जनमुक्ति’ लडाकुका चार जना डेपुटी कमान्डरमध्ये एक हुन शर्मा। माओवादी लडाइँका वेला शर्माले नेतृत्व गरेको टुकडीले निर्ममतापूर्वक हत्या गरेको आरोप लाग्ने गरेको छ। तानसेन आक्रमण पनि उनकै नेतृत्वमा भएको भिडियो यूट्यूबमा देख्न सकिन्छ।

शैक्षिक पृष्ठभूमि र कामको अनुभव नभएका शर्मा अर्थतन्त्रको जिम्मेवारीमा पुगेकाले स्टन्टका आधारमा चर्चामा आउने प्रयासमा लागेको स्रोतको दावी छ ।

माओवादी लडाकुका शिविरमा भएको ठूलो आर्थिक घोटालामा पनि शर्माको संलग्नताको विषयमा प्रश्न उठ्ने गरेको छ। माओवादी लडाकुको शिविर व्यवस्थापन, भत्ता, भरणपोषण खर्चमा अनियमितता भएको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरे पनि राजनीतिक स्वार्थका कारण यसलाई टुंगोमा पु¥याउन सकेको छैन। 

ऊर्जा मन्त्रालयको नेतृत्व गर्दा शर्माले बूढीगण्डकी जलविद्युत् आयोजना चिनियाँ कम्पनी सीजीजीसीलाई दिने सम्बन्धमा गरेको सम्झौता पनि विवादित छ। तत्कालीन प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको अन्तिम मन्त्रिपरिषद् बैठकले ९ जेठ, २०७४ मा बूढीगण्डकी जलविद्युत् परियोजना निर्माणका लागि विना प्रतिस्पर्धा चाइना कचौपा ग्रुप कर्पोरेसन (सीजीजीसी) लाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको थियो।

त्यसको १२औं दिनमा राजीनामा दिइसकेको सरकारका ऊर्जामन्त्री जनार्दन शर्माले सीजीजीसीका अध्यक्ष ल्यू चस्याङसँग प्रधानमन्त्री निवास बालुवाटार पुगेर यो परियोजनाको निर्माणको जिम्मा सीजीजीसीलाई दिने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।

यी सवै दाग पखालेर जनताको मन जित्ने प्रयास अन्तर्गत मन्त्रीको भनाई आएको हुन सक्ने वताईन्छ। ‘यदि साँच्चै प्रलोभन आएको हो भने त्यस्ता ब्यक्ति देशका धमिरा हुन। उनीहरुलाई त्यसै छोड्न मिल्छ। यसको मतलव त मन्त्रीले भ्रष्टाचारी र कमिसनखोरको संरक्षण गरेको देखियो त।’ अर्थमन्त्रालयकै कर्मचारी भन्छन्–‘यदि देशभक्त र इमान्दार मन्त्री हो भने त्यस्ता मान्छेलाई कारवाही गरेर सार्वजनिक गर्नुपर्छ ।’

आन्तरिक राजश्व विभाग अर्थमन्त्री जनार्दन शर्मा फकाउने प्रयास स्टन्ट प्रेम आले मगर

विशेष