News

राजेन्द्र महतोलाई धोका दिएर नवलकिशोरले वचाए मन्त्री पद

राजेन्द्र महतोलाई धोका दिएर नवलकिशोरले वचाए मन्त्री पद

मन्त्रालयको १६ करोड रुपैयाँ अनियमित तरिकाले खर्च गरेर वदनामी कमाएका प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मन्त्री पद वचाउनका लागि राजेन्द्र महतोको साथ छोडेको आरोप लाग्ने गरेको छ। 

साह तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)बाट नेता राजेन्द्र महतोको कोटामा सामाजिक विकास मन्त्री बनेका थिए । पछि संघीय समाजवादी फोरम र राजपाको एकता भएर जसपा हुँदा सुरुमा उनी राजेन्द्र महतोकै कित्तामा थिए । तर जसपामा विवाद चुलिएपछि मन्त्री पद गुम्छ भन्दै उनी उपेन्द्र पक्षमा खुले। साह जसपाका कार्यकारिणी सदस्य रहेको कारण पार्टी आधिकारिकताको लागि उपेन्द्र यादवले आफ्नो साथ लिएर उनको मन्त्री पद बचाएका हुन ।

उनको यो कदमको स्थानीयवासीले समेत आलोचना गर्ने गरेका छन् । साहलाई राजेन्द्र महताले नै राजनीतिमा प्रवेश गराएका हुन । जमिन्दारको रुपमा रहेका साहको पृष्ठभुमी राजनीतिमा खासै देखिदैन। महतो सप्तरी आउँदा स्थानीय नेताहरुको सम्पर्कवाट उनीहरुको चिनजान भएको हो । अथाह सम्पत्ति भएका साहले प्रयोग गर्ने मनसायले महताले साहलाई प्रदेश सभाको टिकट दिएका थिए । पछि उनकै घरमा वस्ने–खाने गर्दै आएका महतोलाई साहले धोका दिएको स्थानीयको विश्लेषण छ।

महन्थ ठाकुर र राजेन्द्र महतोको समुह तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा जाँदा मुख्यमन्त्री लालबाबु राउतले महन्थ र राजेन्द्र पक्षका भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलसहित तीन राज्यमन्त्रीलाई समेत बर्खास्त गरेका थिए । तर उपेन्द्रको पक्षमा लागेका मन्त्री साह र उद्योग वन पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायको पद मुख्यमन्त्री राउतले जोगाए।

दुबै मन्त्री भ्रष्टाचार र व्यवहारमा व्यापक बदनाम भएपनि मुख्यमन्त्री राउतले उनीहरुलाई संरक्षण गर्दै आएका छन् ।

प्रदेश २ मा कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषको आर्थिक वर्ष २०७६÷७७ को आय व्यय विवरण अनुसार सामाजिक विकास मन्त्रालयबाट २५ करोड र प्रदेश स्थित संघ, संस्था तथा कार्यालयबाट सहयोग प्राप्त ३ करोड ९७ लाख ६० हजार समेत गरी २८ करोड ९७ लाख ६० हजार रकम जम्मा भएको देखिन्छ। सो मध्ये १८ करोड ५४ लाख ८० हजार खर्च गरेको छ । १० करोड ४२ लाख ८० हजार रकम मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ ।

कोषबाट खर्च भएको ८५ लाख ७७ हजार रुपैयाँ मन्त्रालयमा र ७२ लाख रकम विविध खातामा ट्रान्सफर गरिएको पाइएको छ । कोभिड १९ रोकथाम तथा उपचार सम्बन्धी विभिन्न कार्य गर्ने, लेखा राख्ने र लेखापरिक्षण गराउने गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुर, मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिबास, भिम दल गण सप्तरी, विपी मेमोरियल पोलिटेक्निक इन्स्टिच्युट, स्वास्थ्य कार्यालय रौतहट र अन्य १० अस्पताललाई १६ करोड ९७ लाख ४ हजार रकम निकासा दिएको छ । उक्त रकम सम्बन्धित निकायले खर्च गरेको वा नगरेको भन्ने मन्त्रालयले हालसम्म गुपचुप राखेको खुलेको छ ।

मन्त्रालयले कोभिड १९ रोकथाम नियन्त्रण तथा व्यवस्थापन सम्बन्धमा प्रदेश २ अन्तर्गतका आठ वटै जिल्ला स्वास्थ्य कार्यालयहरुलाई केस इन्भेष्टिकेशन एण्ड कन्ट्रयाक्ट ट्रेसिंगको लागि चिकित्सक स्वास्थ्यकर्मी परिचालन खर्च वापत मन्त्रालयको २१ असार २०७७ को निर्णयानुसार प्रति कार्यालय २ लाख रकमको दरले १६ लाख रकम निकासा दिएको छ ।

उक्त निकासा एलएमविआईएस मार्फत निकासा नभई सोझै स्वास्थ्य कार्यालयको नाममा चेक काटेर भुक्तानी दिएको खुलासा भएको हो । उक्त स्वास्थ्य कार्यालयले आफ्नो खातामा आम्दानी बाँधी लेखापरिक्षण गराएको प्रमाण पेश गर्न निर्देशन दिएको छ । 

यो पनि

वाउ–छोरा मिलेर मन्त्रालयको १६ करोड झ्वाम्

प्रदेश २ नवलकिशोर साह ‘रामवावु’ राजेन्द्र महतो

विशेष