News Breaking News मुख्य समाचार देश राजनीति

प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”

प्रभु साहले भने, “यो व्यवस्था असफल भईसक्यो”

लहान । पूर्वमन्त्री प्रभु साहले वर्तमान व्यवस्था असफल भइसकेको बताएका छन् ।

बिहिवार लहानमा आयोजित आईटी आर्मीको सिरहा जिल्ला भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले वर्तमान व्यवस्था पूर्ण रुपमा विकृत रहेको र असफल भई देशमा अस्थिरता निम्त्याएको बताए ।

 

उनले संविधान निर्माण जस्तो कार्य पनि भागबण्डाको आधारमा गरी संसारमा काहीँ नभएको प्रावधानहरु संबिधानमा राख़ेर देशलाई बन्धक बनाएको बताए ।असफल व्यवस्थाकै नतीजा स्वरुप आज देशमा विद्यमान राजनीतिक किचलो झनै बढ़ेको उनको तर्क छ ।

नेपालको सन्दर्भमा कुनै पनि हिसाबले उपयुक्त हुन नसक्ने व्यवस्थाहरु संविधानमा समेटेर दलहरुले आफ्नो निहित स्वार्थ पुरा मात्र गरेको तर देशलाई भने ठूलो क्षति व्योहोर्नुपरिरहेको उनको भनाई छ । ठुलठुला देशहरुमा ५०/६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत नियतले सयौं सरकार जन्माइएको टिप्पणी गरे ।

उनले संसारमा कही पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको, शासक वर्गलाई आरक्षण नेपालमा मात्र रहेको, पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र रहेको, अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनिे नागरिकता दिनेजस्ता व्यवस्थाहरु नेपालमा मात्र रहेकोले देशलाई खोक्रो बनाउने कार्य भइरहेको टिप्पणी गरे ।

“संसारमा काहीँ नभएको तीन तहको सरकार नेपालमा छ । संघीयताको मजाक बनाउने ७६१ वटा सरकार नेपालमा छ । दर्जनौ संवैधानिक निकाय नेपालमा मात्र छन् । संसारमा काही नभएको शासक वर्गलाई आरक्षण नेपालमा छ । नाङ्गै रुपमा पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र छ । अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनिे नागरिकता दिने व्यवस्था नेपालमा मात्र छ । संसारका सबै व्यवस्थाहरुको संयोजन गरेर पूर्णत अवैज्ञानिक तवर लादिएको व्यवस्था असफल भईसकेको छ ।” पूर्वमन्त्री साहले भने, “समग्रमा वर्तमान खिचडी संविधानमा लादिएका यस्ता कयौं व्यवस्थाका कारण आज देशमा राजनीतिक नाटक मञ्चन हुँदैछन् । र यो व्यवस्थाको असफलता देशमा विद्यमान किचलोले पुष्टि गर्दछ । त्यसैले, देशलाई समृद्ध र स्थिर बनाउने हो भने वर्तमान व्यवस्थाको विकल्प खोज्नैपर्छ ।”

पूर्वमन्त्री प्रभु साहले संविधानसभाबाट संविधान जारी गर्ने बखत नै यो संविधानले देशको भलाई गर्न सक्ने भन्दै संविधानमा हस्ताक्षर नगरी संघर्षमा गएका थिए । त्यति बेला देखि नै उनले वर्तमान व्यवस्था र खिचडी संविधानको विकल्प खोज्ने जनतालाई आह्वान गर्दै आएका छन् ।

भेलाबाट दिपेन्द्र महतोको संयोजकत्वमा आईटी आर्मीको सिरहा जिल्ला कमिटी गठन भएको छ ।

विशेष