News अपराध सुरक्षा

संखुवासभा हत्या काण्ड : लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा

संखुवासभा हत्या काण्ड : लोकबहादुरका भाइ पनि अनुसन्धानको दायरामा

संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न लोकबहादुर कार्कीका भाइ नरेशलाई पनि प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ । 

हत्या गरिएकी लोकबहादुरकी ३२ वर्षीया बुहारी रञ्जनाको मोबाइल सेट प्रहरीले अनुसन्धानका क्रममा नरेशको साथबाट बरामद गरेकाले उनलाई अनुसन्धानको दायरामा ल्याइएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए । उक्त हत्याकाण्डमा लोकबहादुरलाई सहयोग गरेको आशङ्कामा नरेशमाथि समेत छानबिन थालिएको उनले बताए। घटनाको अनुसन्धान गर्न १० प्रहरी घटनास्थलमा तैनाथ गरिएको छ । 

यही भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । उनीहरुको हत्या आफुले गरेको लोकबहादुरले प्रहरी समक्ष स्वीकारेका छन् । उनलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरिसकेको छ । हत्यापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक रुगम कुँवर, सङ्घीय प्रहरी इकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल र संखुवासभाका उपरीक्षक लालध्वज सुवेदीसहितको टोली घटनास्थलको पुगेको थियो । रासस

विशेष