News

सत्ता गठवन्धनको रणनीति– एमालेलाई संसदमा पेल्ने, वाहिर फकाउने

सत्ता गठवन्धनको रणनीति– एमालेलाई संसदमा पेल्ने, वाहिर फकाउने

सत्ता गठवन्धनले प्रमुख प्रतिपक्षि नेकपा एमालेलाई संसदमा पेल्ने र संसद वाहिर फकाउने रणनीति लिएको छ। सोही रणनीति अन्तर्गत विहिवार प्रधानमन्त्री शेरवहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न दुत पठाएका छन् ।

प्रधानमन्त्रीको दुतका रुपमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ओलीसँग भेट गरेर संसद् खुलाउनका लागि सहयोग गर्न आग्रह गरेका छन्। एमालेले लगातार संसद् अवरोध गर्दै आइरहेको छ। 

एमालको अवरोधका कारण सरकारले बजेटको प्रतिस्थापन विधेयक पारित गर्न नसकेपछि बिहीबारबाट सरकारी खर्च बन्द भएको छ । मन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई संसद अवरोध खुलाउन आग्रह गरेको जानकारी दिएका छन्।

प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गते सुरु भएयता एमालेले लगातार अवरुद्ध गरिरहेको छ । तर, त्यस मध्येका दुई दिन सभामुखले प्रतिपक्षलाई पेलेरै वैठक संचालन गरेका थिए । तर, एमालेले लगातार संसद् अवरोध गर्न थालेपछि सरकारले ल्याएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएको छ।

प्रतिनिधि सभाको अर्को बैठक आगामी सोमबारका लागि बोलाइएको छ। एमालेका नेताहरुले भने संसद् अवरोध जारी राख्ने बताइरहेका छन्।

विगतमा एमालेमा रहेर वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विश्वासको मत नदिनेमध्ये १४ सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै एमालेले संसद् अवरुद्ध गरिरहेको हो । यस विषयमा सभामुख अग्निप्रसाद सापकोटाले पार्टीले गरेको कारबाहीअनुसार सूचना जारी नगरेको एमालेको आरोप छ ।

सभामुख सापकोटाले पदीय आचरणअनुरुप काम नगरेको, पक्षपातपूर्ण व्यवहार गर्दै पार्टी विभाजनमा सहयोगी भूमिका खेलेकाले पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्न वा मार्गप्रशस्त गर्न एमालेले माग गरेको छ ।
 

सत्ता गठवन्धन नेकपा एमाले शेरवहादुर देउवा केपी शर्मा ओली प्रमुख प्रतिपक्ष

विशेष