News देश

३५ प्रतिशत काम सकिएपछि धुर्मुस सुन्तलीले क्रिकेट रंगशाला निर्माणको काम रोके 

३५ प्रतिशत काम सकिएपछि धुर्मुस सुन्तलीले क्रिकेट रंगशाला निर्माणको काम रोके 

चीतवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम रोकिएको छ । दशैंमा उद्घाटन गर्ने भन्दै आएको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माणको कामवाट हात उठाएको हो ।

कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को अगुवाइमा आमनागरिकबाट पैसा संकलन गरी १६ माघ २०७५ देखि रंगशाला निर्माण थालिएको थियो । ३५ प्रतिशत काम सकिएपछि रकम अभाव देखाउँदै फाउण्डेसनले चितवनमा रंगशाला बनाउने काम रोकेको छ । 

अभियन्ता धुर्मुसका अनुसार ३५ प्रतिशत काम सकिँदा ५४ करोड रुपैयाँ खर्च भएको छ । उनले भने– ‘ऋण १६ करोड नाघेको छ । धेरैतिर उधारो भयो । फेरि उधारो लिन अप्ठेरो छ । जनताले सहयोग गरिरहनुभएको छ । तर, त्यसले मात्रै नपुग्ने भयो।’ 

३ हजार दर्शकले हेर्न मिल्नेसम्म काम भएको वताएका कट्टेलले सरकारले थोरै सहयोग गरे एक वर्षभित्र रंगशाला बन्ने वताए । ‘सरकारलाई सहयोग गर्न भनेका छौं तर, हार खाएको छैन’ उनलेभ भने–‘सरकारलाई सहयोगका लागि प्रस्ताव पत्र बुझाएका छौं।’


३ अर्ब अनुमानित लागतको महत्वाकांक्षी परियोजना जनस्तरबाट अभियान सञ्चालन गरी निर्माण गर्ने लक्ष्यका साथ यो काम सुरु गरिएको हो ।

गत वर्षको मंसिर १ देखि मुख्य रंगशाला निर्माणको काम सुरु भएको हो । सुरुआतमा २२ लाख लिटरको ड्रेन निर्माण र प्यारापिटको पिलरको फाउन्डेसन तयार गर्न फागुनसम्मको समय लाग्यो । चैत महिना लकडाउनका कारण काम सञ्चालन हुन नसके पनि वैशाखयता रंगशालाको पूर्व (स्टान्ड बी) र पश्चिम (स्टान्ड ए) मोहडामा रहने प्यारापिटको काम सुरु गरिएको हो । यो प्यारापिट ३० हजार दर्शक क्षमताको हुनेछ ।

रंगशालाको ३ सय ६० वटा पिलरमध्ये २ सय वटा पिलर ठड्याइसकिएको छ । स्टान्ड ए मा सबै पिलर (१ सय ३५ वटा) राखिसकिएको छ । यहाँ ढुंगाको वालको काम सुरु भएको छ । स्टान्ड बिमा ६५ वटा पिलर उठेको छ र बाँकीको काम अन्तिम चरणमा पुगेको छ ।

सरकारी तवरबाट रंगशालालाई वाग्मती प्रदेश सरकारबाट तीन करोड, भरतपुर महानगरपालिकाबाट २ करोड, हेटौंडा उपमहानगरपालिकाबाट ३० लाख रकम सहयोग भएको छ । अन्य केही स्थानीय तहले बालुवा, ढुंगा र गिट्टी सहयोग गरेका छन ।
 

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला धुर्मुस सुन्तली फाउण्डेसन

विशेष