News विदेश

हवाई आक्रमणमा परी नाइजेरियामा नौको मृत्यु, २३ घाइते

हवाई आक्रमणमा परी नाइजेरियामा नौको मृत्यु, २३ घाइते

नाइजेरियामा भएको हवाई आक्रमणमा परी कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु २३ जना घाइते भएका छन् । 

आपतकालिन सेवासम्वन्धी सरकारी निकायका अधिकारीले शुक्रबार दिएको जानकारी अनुसार घटनामा परी निर्दोष आम नागरिक बढी पिडित भएका छन् । 

नाइजेरियाली विमानले यही हप्ताको सुरुमा आक्रमण गरेको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । 

बोको हराम र इस्लामिक स्टेटमा आवद्ध व्यक्तिहरू रहेको सूचनाका आधारमा आक्रमण गरिएको समाचारमा जनाइएको छ । 

विद्रोहीहरूलाई लक्षित गरेर आक्रमण गरेको भएपनि आम सर्वसाधारण समेत पर्नुलाई सरकारी अधिकारीहरूले ‘भूलवस भएको कमजोरी’को रुपमा लिएका छन् । 

सन् २००९ देखि नाइजेरियामा जिहादी विद्रोहीहरुसँग सरकारी सुरक्षाकर्मीहरुको भिडन्त हुदै आएको छ । सरकार विद्रोहीबीचको द्वन्द्वका कारण अहिलेसम्म ४० हजारभन्दा बढीको मृत्यु भएको छ । 

त्यसैगरी द्वन्द्वमै परेर अरु झण्डै २० लाख मानिस आफ्नो घरबाट विस्थापित भएको पनि सरकारी अधिकारीहरूले जनाएका छन् ।

लडाकू विमानले बुधबार योबे राज्यको बुहारी गाउँमा आक्रमण गरेको हो । घटनास्थल छिमेकी मुलुक नाइजरसँगको सिमा क्षेत्रमा पर्दछ । त्यस ठाउँमा कम्तीमा १० जनाको मृत्यु भएको थियो भने अरु कम्तीमा १९ जना घाइते भएको स्थानीयले बताएका छन् । 

तर योबे राज्यको विपद व्यवस्थापन प्रमुख मोहम्मद गोजेले कम्तीमा नौ जनाको मृत्यु भएको शुक्रबार पुष्टि गरे।

“घटनामा परी अन्य कम्तीमा २३ जना घाइते भएका छन्, घाइते हुनेमा महिला, बालबालिका र पुरुष पनि रहेका छन्,” घटनास्थलको भ्रमणबाट फर्केका गोजेले भने।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको पनि उहाँले जानकारी दिनुभयो । घाइतेहरूको राज्य राजधानी डामातुरुमा रहेको अस्पतालमा उपचार भइरहेको पनि उनले वताए। रासस

विशेष