News राजनीति

सभामुख विना नै संसद चलाउने कांग्रेसको प्रश्ताव, ओली नाजवाफ

सभामुख विना नै संसद चलाउने कांग्रेसको प्रश्ताव, ओली नाजवाफ

सभामुखको विरोध गर्दे नेकपा एमालले लगातार विरोध गर्न थालेपछि संसदको गतिरोध अन्त्य गर्न नेपाली कांग्रेसले सभामुख विना नै प्रतिनिधिसभा सञ्चालनको प्रयास सुरु गरेको छ ।

प्रतिनिधिसभाको नवौं अधिवेशन भदौ २३ गते सुरु भएयता एमालेले लगातार अवरुद्ध गरिरहेको छ । तर, त्यस मध्येका दुई दिन सभामुखले प्रतिपक्षलाई पेलेरै वैठक संचालन गरेका थिए । त्यसक्रममा सरकारले ल्याएको बजेट सम्बन्धी प्रतिस्थापन विधेयकमाथिको विचार गरियोस् भन्ने प्रस्ताव मात्र पारित भएको छ। अर्थमन्त्री जनार्दन शर्माले ल्याएको प्रतिस्थापन विधेयक पारित हुन सकेको छैन।

जसका कारण मुलुक बजेट होलिडेमा गएर सार्वजनिक खर्च रोकिएपछि सरकार चर्को दबाबमा परेको छ । त्यहि संवेदनशीलतालाई ध्यानमा राखेर प्रधानमन्त्री शेरबहादुर देउवा र उनी निकटस्थहरुले बजेट अध्यादेश प्रतिस्थापन विधेयक पारित गराउन लबिङ थालेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार पछिल्लो समय सरकारले विभिन्न माध्यमबाट ओलीनिकट नेताहरुसँगको कुराकानीलाई व्यापक बनाउन थालेको छ । स्रोतका अनुसार एमालेले संसद बहिष्कार गरेर बसिदिने हो भने बजेट पारितपछि सभामुखलगायतका विषयमा छलफल गर्नेसम्मको आशयको प्रस्ताव कांग्रेसले राखेको छ। त्यस विषयमा एमालेले भने कुनै जवाफ नदिएको बालकोट निकट स्रोत जनाउँछ।

प्रधानमन्त्री देउवाको दुत वनेर गएका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद अवरोधको निकासका उपायवारे एमाले अध्यक्ष ओलीसँग छलफल गरेका छन् । सरकारले राखेको प्रस्तावमा ओली लचिलो हुन सक्ने सम्भावना छ ।

विश्वस्त स्रोतका अनुसार मन्त्री कार्कीले ओलीसमक्ष सभामुखको अनुपस्थितिमा संसद बैठक सञ्चालन गर्न सकिने वा नसकिने भन्नेबारे पनि सल्लाह गरको छन् । यस विषयमा एमाले र नेपाली काँग्रेसनिकट कानुन व्यवसायीहरुसँग तिनका सीमित नेताले छलफलसमेत गरेको वताईन्छ।

तर, प्रस्तावमाथि सत्ता साझेदार माओवादी केन्द्रले असहमति राख्ने बुझिएकाले काँग्रेसको पहलमा संसद गतिरोध फुकाउन प्रधानमन्त्रीले अन्य कसैलाई जानकारी नदिई पहल अघि वढाएको हुन सक्ने आँकलन गरिएको छ। 

नेपाली काँग्रेस नेकपा एमाल सभामुख विना नै संसद सञ्चालन

विशेष