News देश

प्रचण्ड पत्नि सीतालाई प्रबल जनसेवाश्री विभूषण प्रदान

प्रचण्ड पत्नि सीतालाई प्रबल जनसेवाश्री विभूषण प्रदान

सरकारले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ पत्नि सीता दाहाललाई प्रसिद्ध प्रबल जनसेवाश्रीबाट विभूषित गर्ने भएको छ।

संविधान दिवसको अवसरमा दाहाललाई राजनीतिक अभियन्ताका रूपमा विभूषित गर्न लागिएको हो। मन्त्रिपरिषद बैठकको सिफारिसमा सीतालाई विभूषणबाट सम्मान गर्न लागिएको हो।

तत्कालीन कास्की जिल्लाको ढिकुरपोखरी गाविसमा जन्मेकी हुन सीता। पुष्पकमल दाहालले कक्षा १० मा पढ्दै गर्दा सीता पौडेलको विवाह भएको हो । संयोगले कास्कीबाट दाहाल परिवार र पौडेल परिवार एकै साल चितवन झरेका थिए । सीताका लागि टाँठो र पढे लेखेको केटा खोज्ने क्रममा उनका मामाले पुष्पकमललाई फेला पारे ।

पुष्पकमलको गरिब किसान परिवार भए पनि धनीकी छोरी विवाह गर्ने भनेपछि दोहोरा बाजासहित पुष्पकमल र सीताको विवाह भयो । विवाह भएको केही समयमा नै श्रीमान् काठमाडौं पढ्न गएपछि सीताको जीवन त्यसै उदास बनेजस्तो हुन लाग्यो । तर केही समयमा नै छोरी जन्मेपछि एकातिर सीतालाई साथी भइन् छोरी भने अर्कातिर छोरो पाउन नसक्ने बुहारीका रुपमा सीताले मनोवैज्ञानिक बुहार्तन खेप्न बध्य हुनुप¥यो । त्यसमाथि लगातार ३ वटी छोरी भए सीताका । 

कान्छी छोरी जन्मेको बर्ष सीताका श्रीमान् कम्युनिस्ट पार्टीको पूर्णकालीन कार्यकर्ता बनेर घरबाट निस्केपछि सीताको जीवन निरसिलो त बन्ने नै भयो । त्यसमाथि दाहाल परिवारमा पढे लेखेको, सबै परिवार पाल्ने आशा गरिएको जेठो छोरो नै पार्टी कार्यकर्ता बनेपछि पञ्चायती प्रशासनको यातना खेप्न बाध्य भयो दाहाल परिवार । त्यसको पहिलो मार पनि सीतालाई नै प¥यो । पुष्पकमललाई घरबाट छुट्याइदिएपछि पुलिसको दमनबाट जोगिन्छ कि भनेर पुष्पकमलका पिता मुक्तिराम दाहालले उनीहरुलाई  छुट्याइदिए । श्रीमान त प्रहरीको खोजीमा परिसकेका थिए । तर  पनि हरदम छायाँका रुपमा प्रचण्ड सीतासँगै थिए । त्यस्तो अवस्थामा सीतालाई माइतीले भरथेग गरेको पाईन्छ।

दुई वर्षपछि दाहालले परिवारलाई भरतपुर सारे । ०४६ सालमा सीता पनि अब श्रीमान्सँग कहिल्यै नछुट्टिनेगरी काठमाडौं आइपुिगन् । त्यो अलिक खुला र सहज समय पनि चार बर्ष भन्दा धेरै हुन पाएन । पुष्पकमल दाहाल, प्रचण्ड बनिसकेका थिए । उनले संसारै हल्लाउने जनयुद्धको घोषणा गरेर हिडेका थिए।

झण्डै दश वर्ष बढीको प्रवास र बनवास पूरा गर्दा प्रचण्ड दम्पत्ति धेरै पटक मृत्युको मुखबाट बाँच्न सफल भए । त्यही बीचमा कसरी जोगिने भन्ने उद्धेश्यमा केन्द्रित भएर तीनवटै छोरीको विवाह भयो । अझ रोचक त दुईवटी छोरीहरु रेणु र गंगाको प्रवासमा एकै दिन विवाह गरिदिन बाध्य भए प्रचण्ड दम्पत्ति । त्यो सँगै रेणुसँग छोरा प्रकाश प्रवासमा नै बस्न मिल्ने भएपछि बल्ल २०५३ सालदेखि प्रचण्ड दम्पत्ति मात्र भएर भारतका कन्याकुमारीदेखि सिमला, आसामदेखि मुम्वईसम्म विचरण गर्न थाले जनयुद्ध हाँक्नका लागि । त्यतिबेला प्रचण्डको पार्टी हेडक्वाटर नै प्रचण्डको डेरा र झोला थियो ।

प्रवासमा पनि प्रचण्डलाई चौतर्फी सुरक्षा शक्ति केन्द्रहरुले घेरा हालेको थाहा पाएपछि प्रचण्ड दम्पत्ति नेपालको रोल्पा–रुकुमलाई आफ्नो हेडक्वाटर बनाउन तयार भयो । २०६० सालमा पहिले श्रीमान् प्रचण्ड रोल्पा जाने र पछिमात्र श्रीमती सीता मुम्वईबाट रोल्पा आएका हुन ।

उनीहरुले रोल्पा क्षेत्रमा दुई वर्ष विताए । दुई वर्षे रोल्पा बसाइपछि प्रचण्ड दम्पत्ति कुनै बेलाका दुश्मन गिरिजाप्रसाद कोइराला सहितका नेताहरुसँग १२ बुँदे सहमति गरेर राजतन्त्रको अन्त्य गर्ने प्रयोजनका लागि दिल्ली पुगे । तत्कालीन नेपाल सरकारका गृहमन्त्री कृष्ण सिटौला नै विद्रोही सुप्रिम कमाण्डर दम्पत्तिका सवारी मन्त्री बनेर बालुवाटार प्रवेश (२०६३ असार २) गराउँदा सीता दाहाल चकित परिन् । 

असार २ को आठ बुँदे सहमतिले विस्तृत शान्ति सम्झौता भएर जनयुद्धको अन्त्य भएपछि सीताले प्रचण्डलाई लगातार त्यसमा टिकिरहन हरसम्भवले दबाब बढाइन् । त्यसको डेढ वर्ष नपुग्दै कास्की ढिकुरपोखरीको मिलवालाकी छोरी सीता देशको प्रथम महिला बन्न सफल भईन। प्रचण्ड पहिलो पटक प्रधानमन्त्री भएका बेला सीताले सबैभन्दा बढी राजनीतिक र पारिवारिक तनाब झेल्न बाध्य हुनु प¥यो । छोराको परिवार विग्रने दिशामा उन्मुख हुनुका साथै उसको आनीबानीमा आएको परिवर्तनले अर्को समस्यामा धकेलिदियो सीता दाहाललाई ।

जसोतसो बालुवाटारबाट मुक्त भएर निजी निवासमा फर्केको केही समायमा नै ज्ञानु छोरीको निधनले विक्षिप्त बनायो । केही वर्षपछि नै छोरो प्रकाशले पनि धर्ती छोडे । अर्कोतिर श्रीमानका विरुद्ध पार्टीभित्रैबाट गरिएको चौतर्फी घेराबन्दी अरु बढी कसिलो बन्दै थियो । 

सीता दाहालको साढे ६ दशक लामो जीवनमा ज्ञानु छोरी गुमाउने पीडासँगै गम्भीर विमारले छोएको कसैलाई पनि पत्तै भएन । त्यसमाथि ०७३ सालमा प्रचण्ड दोस्रो पटक प्रधानमत्री हुँदा पनि सीताको मनमा चैन थिएन । २०७४ सालमा प्रचण्डले सिद्धियो भन्ने तहमा पुग्दै गरेको माओवादी पार्टीलाई सबैभन्दा ठूलो आन्दोलन बनाउने तहमा पु¥याउन सफल भएपछि सीतालाई राजनीतिक रुपमा राहत त भयो । तर राजनीतिक उत्साहमा सीतालाई पार्किन्सस्ले गाल्दै लगेको अवस्था झन बल्झँदै गयो ।

उनलाई अस्पतालदेखि, भारत, सिंगापुर र अमेरिका समेत पु¥याएर परीक्षण गराउँदा पनि रोगको एउटै निदान भयो । सिंगापुरका चिकित्सकको सल्लाहमा सीता दाहाललाई रमाइलो वातावरण बनाइदिने भनेको कारण नै प्रचण्डले आलोचनाका बीच विवाहको ५० औं वर्षगाँठ मनाए । अहिले उनी रोगले ग्रसित छिन् । 

सीता दाहाल प्रसिद्ध प्रबल जनसेवाश्री

विशेष