News देश

हुम्लामा चीनद्वारा अतिक्रमित नेपाली भुमी अनुगमनमा स्थानीय प्रशासनकै अवरोध

हुम्लामा चीनद्वारा अतिक्रमित नेपाली भुमी अनुगमनमा स्थानीय प्रशासनकै अवरोध

०७७ असोजमा हुम्लाको सीमावर्ती क्षेत्रमा चीनले भवन बनाएको विषयले राष्ट्रिय राजनीति तरंगित भयो। नाम्खा गाउँपालिका–६ मा पर्ने लाप्चामा नेपालीले वस्तुभाउ चरिचरण गराउँदै आएको ठाउँमा चिनियाँ पक्षले भवनहरू बनाएर नेपालीलाई प्रवेश निषेध गरेको खबरहरू मिडियामा सार्वजनिक भए। 

नेपालको भुमी अतिक्रमण गरेर भवन निर्माण गरेको भन्दै नेपालमा चीन विरोधी आन्दोलन पनि भए । यो विषयलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जोडतोडले उठायो । तर, सरकारका प्रवक्ता प्रदिपकुमार ज्ञवालीले चीनले नेपाली भुमी नमिचेको प्रतिक्रिया दिए ।

कांग्रेसले तत्कालै कर्णाली प्रदेशको प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता तथा हुम्लाबाट कर्णाली प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य जीवनबहादुर शाहीलाई लिमी उपत्यकाको स्थलगत भ्रमणमा पठायो । सदरमुकाम सिमिकोटवाट झण्डै १ सय किलोमिटरको दुरीमा रहेको उक्त स्थानको अनुगमनपछि शाहीले पार्टीको केन्द्रीय कार्यालयमा रिपोर्ट बुझाए । त्यसैका आधामार असोज २८ गते कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै हुम्लामा चीनले सीमा मिचेको तर, नेपाल सरकारले मिचेको छैन भनी राष्ट्रघात गरेको आरोप लगाए।

नाम्खाको लिमिमा चीनले नेपालको सिमाना मिचेको चर्चा देशको राजधानीमा आइपुग्दा सरकारले ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मार्फत धारणा सार्वजनिक गरेको थियो । कांग्रेसले भने ‘यस्तो प्रश्नमा हतारोमा टिप्पणी गर्नु गलत हुने अतः स्थलगत अध्ययनको प्रतिवेदन पश्चात् टिप्पणी गर्नु जिम्मेवार र परिपक्व हुने’ धारणा सार्वजनिक गरेको थियो। 

चीनसँगको सीमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सिमाक्षेत्रमा शाहीको टोलीले ११ दिन लगाएर गरेको अध्ययनको निष्कर्ष छ–‘नाम्खाको लिमिमा चीन सरकारले करिब दुई किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको छ।’

दुई किलोमीटर भूमि अतिक्रमण हुंदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घण्टे स्पष्टीकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छंदै ‘सीमा मिचिएको छैन’ भन्दै परराष्ट्र मन्त्रालय बोल्नु, सो टोली सीमाबाट फर्किएपछि मिडियालाई विवरण दिन रोक लगाइनु, त्यो अध्ययन टोलीको विवरण केन्द्रमा समेत सार्वजनिक नगरिनु अनि प्रतिपक्षी दलको प्रदेश संसदीय दलको नेतृत्वले अध्ययन गरेको प्रतिवेदन पाएपछि पनि प्रदेश र केन्द्र सरकार दुवै मौन रहनु दुःखद, लज्जास्पद र आपत्तिजनक रहेको काँग्रेसले वतायो।

यसअघि हुम्लाका सिडिओ चिरन्जीवी गिरी र सहायक सिडिओ दत्तराज हमालले सीमा मिचेको विषयमा मिडियामा वोलेपछि चीनियाँ दबाबमा उनीहरुलाई कारबाही स्वरुप सरुवा गरियो। अनि खोजिखोजी चीन समर्थक प्रशासकहरुलाई हुम्ला पठाईएको छ । हुम्लामा हाल तत्कालिन गृहमन्त्री रामवहादुर थापा ‘वादल’ को पहलमा खोजी भएका गणेश आचार्य सिडिओ र दशरथ राई सहायक सिडिओ छन् । जसमध्ये अधिकारी ०७७ फाल्गुन २५ र राई ०७७ चैत्र १६ गते हुम्लामा हाजिर भएका हुन ।

चीन विरोधी गतिविधिमा संलग्न नहुने प्रशासकको खोजी हुँदा उनीहरु हुम्ला पुगेका हुन । हुम्लाका सिडिओ चीनले सिमा मिचेको बिषयमा बोल्न चाहादैनन्। नेपाल प्रहरीका प्रमुख डिएसपी हेरम्ब शर्मा र ससस्त्र प्रहरी बलका डिएसपीलाई पनि ओली सरकारले नै पठाएको हो। उनीहरुको भुमिका पनि सिडिओको भन्दा फरक छैन। वादलकै सकृयतामा हुम्ला पुगेका प्रहरी प्रशासनका प्रमुखलाई स्थानीयले ‘वादलु हाकिम’ भनेर चिन्ने गरेका छन् ।

सिडिओ आचार्यले सीमा सम्बन्धि गतिविधिको कडा रुपमा अनुगमन गर्ने गरेका छन् । उनकै निर्देशनमा प्लेनवाट सदरमुकाम सिमिकोट पुग्ने यात्रुको बिमास्थलमै ३ पुस्ते  विवरण र ठेगाना टिपिन्छ। नागरिक्ता र अन्य परिचयपत्रको फोटोकपी तथा परिवारका सदस्यको समेत विवरण माग गरिन्छ।

पत्रकार, राजनैनिक दलका प्रतिनिधि र सामाजिक अभियन्ताको पहिचान गरी उनीहरुको गतिविधिमा नियन्त्रणको प्रयास गरिन्छ। चीनको वोर्डरसम्म कोही पनि पुग्न नसकुन भन्ने हिसावलले हरेक तरिकाले रोक्न प्रशासनले भुमिका खेल्ने गरेको स्थानीयहरु वताउँछन् ।

स्थानीय प्रशासनले ट्राभल एजेन्सी र गाडी चालकहरुलाई कसैलाई पनि विवादास्पद क्षेत्रमा नपुर्याउने निर्देशन दिएको छ । जानै परे सकेसम्म त्यहाँसम्म पुग्नै नसक्ने विग्रिएका गाडि सिमातर्फ लैजाने र विग्रियो भनेर वाटैवाट फर्काउने निर्देशन दिईएको चालकहरु वताउँछन् । 

सिमा सम्वन्धमा जानकारी खोज्ने जोसुकैलाई कुनै हालतमा गन्तब्यमा पुग्न नदिने, पुगिहाले सुचना संकलनमा अवरोध गर्ने र संकलित सुचनालाई पनि पुष्टि नहुने गरी अफवाह फैलाउने काममा स्थानीय प्रशासनले ठाउँ–ठाउँमा चाईनिज एजेन्टहरु नै परिचालन गरेको श्रोतको दावी छ। नेपालमा भईरहेका गतिविधिका विषयमा सुचनाहरु चीनियाँहरुलाई वुझाउने काममा प्रहरी प्रशासनकै भुमिका रहेको स्थानीय नेता÷कार्यकर्ताहरुको भनाई छ।

सिमा समस्याकै कारण लिमेली र तल्लो भेगका मानिसबिच मनमुटाब समेत वढेको छ। लिमेलीलाई चीन विरुद्ध नवोले वापत सहयोग पाउने तर तल्लो भेगका मानिसहरुले केही नपाउँने हुँदा दुई तिरका नेपालीहरु मै मेल नरहेको स्थानीय नेताहरुको भनाई छ। 

फोटो- दायाँवाट क्रमशः सिडिओ गणेश आचार्य, जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डिएसपी हेरम्ब शर्मा र सशस्त्र प्रहरीका प्रमुख।

यो पनि

चीनले अतिक्रमण गरेको ३६ हेक्टर जग्गा खोज्न सरकारले गठन गर्यो अध्ययन समिति

कांग्रेसको सिमा विवादको मौसमी रुघाखोकी, सरकारमा गएपछि विशेक !

सिमा विवाद हुम्लाको लिमी

विशेष