News राजनीति

उदयपुरका नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने गठवन्धनको निर्णय

उदयपुरका नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने गठवन्धनको निर्णय

शेरवहादुर देउवा नेतृत्वको सरकारमा थप एक जना मन्त्रीको नाम टुङ्गो लागेको छ। सत्ता गठवन्धनले नेपाली कांग्रेसका सांसद् डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको छ।

मंगलबार साँझ बसेको गठवन्धनको बैठकले डा. खड्कालाई परराष्ट्रमन्त्री बनाउने निर्णय गरेको हो । संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा हुने सार्क राष्ट्रको मन्त्रिस्तरीय साइडलाइन बैठकमा सहभागी गराउनुपर्ने भएकोले गठबन्धनले खड्कालाई मन्त्री बनाउने निर्णय गरिएको हो ।

उनको शपथ ग्रहण बुधबार गराइने छ। बैठकमा नेकपा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेपाली काँग्रेस महामन्त्री पूर्ण बहादुर खड्का, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल, राष्ट्रिय जनमोर्चा  उपाध्यक्ष दुर्गा पौडेल लगायतको उपस्थिति थियो ।

डा. खड्का उदयपुरको निर्वाचन क्षेत्र नं १ वाट प्रतिनिधिसभाको सदस्यका लागि निर्वाचित भएका हुन । खड्काले २०६४ सालदेखि हालसम्म निरन्तर तीन पटक उदयपुरको क्षेत्र नं १ बाट विजय हासिल गर्दै आएका छन् । 

उनी पूर्व सहरी विकास मन्त्री हुन् । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सल्लाहकार तथा सहयोगी र राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेदारी समेत खड्काले सफल रुपमा वहन गरेका छन् । भोजपुरमा जन्मेका डा.खड्काले ०२३ सालमा विद्यार्थी संगठनवाट राजनीतिक यात्रा शुरु गरेका हुन । उनी विराटनगर र काठमाडौंमा पटक पटक पक्राउ परेका छन् ।

उनले पुना, भारतबाट अर्थशास्त्रमा पी–एच. डी. गरेका छन् ।  

डा. नारायण खड्का

विशेष