News

नारायणहिटी दरबार संग्रहालयवाट झण्डै चोरियो श्रीपेच !

नारायणहिटी दरबार संग्रहालयवाट झण्डै चोरियो श्रीपेच !

नारायणहिटी दरबार संग्रहालयवाट श्रीपेच चोरी गर्ने प्रयास असफल भएको छ। अवलोकनका लागि राखिएको श्रीपेच चोर्ने प्रयास गर्ने एक युवक पक्राउ परेका छन् ।

श्रीपेच चोर्न खोज्ने रुकुम मुसिकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपीमा बस्दै आएका अन्दाजी २५ वर्षीय खिमबहादुर घर्ती पक्राउ परेको प्रहरीले जनाएको छ । शुक्रबार दरबार संग्रहालयको अवलोकनका क्रममा उनले सोकेस फुटाएर श्रीपेच झिक्न खोजेका थिए ।

नारायणहिटी दरबार संग्रहालय व्यवस्थापन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार घर्तीले रुपन्देही कक्षमा रहेको ३ फिट लम्बाइ र २ फिट चौडाइ भएको सोकेसमा रहेको श्रीपेच झिक्न खोजेका थिए । खुकुरी निकालेर सोकेस फुटाउन खोज्दै गर्दा सोही कक्षका सुरक्षामा बसेका नेपाली सेनाका सुरक्षा गार्डले उनलाई नियन्त्रण लिएर प्रहरीलाई बुझाएका छन् ।

संग्रहालयको सुरक्षामा खटिएका नेपाली सेनाले घर्तीलाई दरबारमार्ग प्रहरी वृत्तलाई बुझाएका थिए । उक्त कक्षमा खुकुरी र अन्य सामग्रीसहित सोकेसमा नेपालका पूर्वराजाहरूले लगाएको श्रीपेच राखिएको थियो ।

पक्राउ परेका व्यक्तिको मानसिक अवस्था ठीक नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ।

श्रीपेच

विशेष