News अपराध सुरक्षा

काम लागेन प्रहरीको प्रमाण र पीडितको वयान, अभियुक्तकै वयानमा अदालतले दियो उन्मुक्ति

काम लागेन प्रहरीको प्रमाण र पीडितको वयान, अभियुक्तकै वयानमा अदालतले दियो उन्मुक्ति

प्रहरीले प्रमाण जुटाउन नसक्दा १२ वर्ष दुःख गरेर पक्राउ गरिएका अपहरण मुद्दाका अभियुक्त फेरी उम्किएका छन् । ०६५ पुस १ गते भ्याली कोल्डस्टोरका मालिक बाबुराजा रावललाई अपहरण गरी फिरौती लिएको आरोप लागेका दुर्गाबहादुर बुढाथोकीलाई सीआईबीको टोलीले पुस दोस्रो साता भारत नै पुगेर पक्राउ गरेको थियो।

तर, मंगलवार जिल्ला अदालत काठमाडौँले उनलाई सफाइ दियो। नक्खु कारागारबाट श्रीमतीले जिम्मा लिएपछि उनी पुनः भारत नै हुँईकिएको पाईएको छ। कारागारमा पनि भारतकै मोबाइल नम्बर राखिएका कारण उनलाई प्रहरीले सम्पर्क गर्न सकेको छैन ।

दुर्गाबहादुर अदालतबाट सफाइ पाएर छुटिसकेको भोलीपल्ट मात्रै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनको वारेमा जानकारी पाएको थियो । प्रहरीले दुर्गाबहादुर अभियुक्त भएको दाबी गरे पनि अदालतले भने उनी अर्कै व्यक्ति भएको भन्दै सफाइ दियो ।

उनले इजलासमा तीर्थ क्षेत्रीको नाति, शिवा क्षेत्री र तारा क्षेत्रीको छोरा प्रकाश क्षेत्री हुँ भनेका थिए । अभियोग पत्रमा भनिएको व्यक्ति आफू नभएको उनले अदालतलाई बताए। घर पनि भारतको पश्चिम बंगालमा पर्ने दार्जिलिङ भएको दाबी गरे। 

प्रहरीले भिडिओ बयान पनि गराएको थियो। अदालतमा यसबारे सोधिँदा उनले प्रहरीले दबाब दिएर बोल्न लगाएको बताए। सरकारी वकिल कार्यालयमा भएको बयानमा पनि उनले आफ्नो संलग्नता स्वीकार गरेका थिए। सोले भनिने दुर्गाबहादुर बुढाथोकी आफैँ भएको उनी स्वीकार्थे। तर, अदालतमा उनले बयान बदले।

प्रहरीले अभियोग पत्रमा दुर्गाबहादुर भएको दाबी गरे पनि प्रमाणका रुपमा उनको कागजात पेस गर्न सकेको थिएन। पीडितले पनि दुर्गाबहादुर उनै भएको बताएका थिए। तर, बयानका क्रममा भने उनले अपराध स्वीकार गरेका थिए। त्यसलाई अदालतले प्रमाण मानेन र दुर्गाबहादुरलाई सफाइ दियो। प्रहरी प्रमाण जुटाउन चुक्दा अपराध स्वीकारेका व्यक्तिलाई पनि अदालतले उन्मुक्ति दियो। 

प्रहरीले पेस गरेको प्रमाण, पीडितको वयान र भिडियो वयानलाई भन्दा अभियुक्तको बयानलाई अदालतले विश्वास ग¥यो। जस्ले गर्दा उनले उन्मुक्ति पाएको प्रहरी स्रोत वताउँछ।

अपहरणको अभियोगपछि उनी परिचय नै बदलेर दार्जिलिङ बस्दै आएका थिए। सर्लाहीको हरिवन ९ ढुंग्रेखोलाका दुर्गाबहादुर बुढाथोकी दार्जिलिङ पुगेपछि प्रकाश क्षेत्रीको नाममा चिनिन थाले। भारतको आधार कार्डमा पनि उनको नाम प्रकाश क्षेत्री नै भयो। प्रकाश स्टोर नाम राखेर पसल खोले। 

अपराध मेट्न उनले आफ्नो साँचो नाम दुर्गाबहादुर पनि मेट्दै गए। यसअघि सोही मुद्दाका अन्य अपराधीमाथि अदालतले सजाय तोक्दा पनि उनीबारे फैसला भएको थिएन। त्यतिबेला पनि यही समस्या भएको थियो। प्रहरीले उनको तीनपुस्ते खुलाउन नसक्दा उनीविरुद्ध फैसला भएको थिएन। 
 

अपहरण मुद्दा बाबुराजा रावल दुर्गाबहादुर बुढाथोकी

विशेष