News राजनीति

म ओलीभन्दा हरेक कुराले सिनियर हुँ, उनको नेतृत्वमा वस्न सक्दिनः बामदेव

म ओलीभन्दा हरेक कुराले सिनियर हुँ, उनको नेतृत्वमा वस्न सक्दिनः बामदेव

नेकपा एमालेबाट राजीनामा दिएका नेता वामदेव गौतमले आफू केपी शर्मा ओलीभन्दा हरेक कुराले सिनियर भएकाले उनको नेतृत्वमा वस्ने नसकेको वताएका छन् ।

एमालेले आफ्नो राजीनामा अस्वीकृत गरेको सुनेपछि नेता गौतमले ओलीको नेतृत्वमा बस्न नसक्ने पुनः स्पष्ट पारेका हुन् । उनले गत भदौ १८ गते एमालेबाट राजीनामा दिएका थिए ।

‘म राजनीतिक व्यक्ति हुँ । केपी ओलीभन्दा अगाडिको हुँ । उमेरले पनि जेठो हुँ । पार्टीमा लागेको हिसाबले पनि जेठो हो’ उनले भने–‘नेतृत्वमा पुगेको पनि केपी ओलीभन्दा धेरै पहिले हो । मैले धेरै क्षेत्रमा पार्टी निर्माण गरेको छु । यस्तो अवस्थामा उनको नेतृत्वमा त्यहाँ बसिरहन मलाई उपयुक्त लागेन । मैले केपी ओलीको नेतृत्वमा बसिरहनुहुँदैन ।’

नेकपा एमालेले राजीनामा अस्वीकृत गरेको र निर्वाचन आयोगमा पनि नाम पठाएको विषयमा उनले राजीनामा अस्वीकृत गर्नुको कुनै अर्थ नरहेको बताए । वामदेवको राजीनामा अस्वीकृत गरियो भने भोलि उनलाई एमालेमा फर्काउन सकिन्छ कि भन्ने ओलीलाई लागेको हुन सक्ने उनले आशंका गरे। 

नेता गौतमले राजीनामा दिदा ओलीमाथि विभिन्न १० वटा आरोप लगाउँदै एमालेमा बस्न नसकिने स्पष्ट पारेका थिए । उनले आफ्नो राजीनामा स्वीकृत गरे पनि नगरे पनि ओलीमाथि लगाइएका ती आरोपहरूलाई पार्टीले सुरक्षित राख्नुपर्ने बताए । 

विशेष