News विदेश

अपहरणमा संलग्नलाई गोली हानी हत्या गरेपछि सार्वजनिक स्थलमा झुन्ड्याईयो

अपहरणमा संलग्नलाई गोली हानी हत्या गरेपछि सार्वजनिक स्थलमा झुन्ड्याईयो

तालिबानका एक प्रमुखले पहिले जस्तै सार्वजनिक मृत्युदण्ड र हात–खुट्टा काट्नेलगायत कठोर कारबाहीहरू फेरि लागु गरिने घोषणा गरेको भोलिपल्ट अफगानिस्तानको हेरत सहरमा चार जना अपहरणका अभियोगीलाई गोली हानी हत्या गरिएको छ। हत्या गरेपछि उनीहरूको शव सार्वजनिकस्थलमा झुण्ड्याएका छन् ।

एक व्यवसायी र तिनका छोरालाई अपहरण गरेको तालिबानीले थाहा पाएपछि दुई पक्षबीच झडप हुँदा उनीहरू मारिएका हुन् । स्थानीय वासिन्दाले बताएअनुसार एक मृतकको शव सहरको केन्द्रमा क्रेनमा राखेर झुण्ड्याइएको थियो ।

त्यहीँ पसल चलाउने वाजिर एहमद सिद्दिकीले एसोसिएट प्रेसलाई खबर गर्दै चारवटा शव सहरको बीच भागमा ल्याइएको र एउटालाई झुन्डाएर बाँकी पनि अरू ठाउँमा प्रदर्शनमा राखिएको बताए । हेरतका डेपुटी गभर्रनर मुआलवाइ शेरका अनुसार आगामी दिनहरूमा कसैले त्यस्तो हर्कतको प्रयास नगरोस् भनेर चेतावनी दिनका लागि त्यसरी शवहरू सबैलाई देखाउन राखिएको हो ।

घटनाको एउटा क्रूर तस्बिर यतिबेला सामाजिक सञ्जालमा व्यापक सेयर भइरहेको छ, जसमा शवलाई रगताम्मे अवस्थामा क्रेनमा झुण्ड्याइएको देख्न सकिन्छ । त्यस्तै, अर्को एक भिडियोमा झुण्ड्याइएका ती व्यक्तिको छातीमा ‘अपहरणकारी यसरी दण्डित हुनेछन’ भनेर लेखिएको देख्न सकिन्छ ।

सत्ताकब्जा गरेदेखि तालिबान लडाकुले पूर्व शासनभन्दा कम कठोर तरिकामा देश चलाउने वचन दिँदै आएका छन् । तर, यस विपरीत विभिन्न मानवअधिकारविरोधी गतिविधिहरूबारे खबर आइरहेको छ । यसअघि, यो मुद्दाबारे प्रश्न गर्दा तालिबानी निर्णायक मुल्लाह नुरुद्दिन तुराबिले ‘हाम्रो कानुन कस्तो हुनुपर्छ भनेर हामीलाई कसैले सिकाउनु पर्दैन’ भनेका थिए । 

विशेष