News राजनीति

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सत्ता जोगाउन होला त चमत्कार ?

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सत्ता जोगाउन होला त चमत्कार ?

एमालेबाट प्रदेशसभामा निर्वाचित १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सत्ता यात्रामा पुर्ण विराम लाग्ने भएको छ। तीन पटकको अथक प्रयासमा मुख्यमन्त्री भएका आचार्य राजनीतिक वृत्तमा कुनै चमत्कार वा नयाँ राजनीतिक समीकरण फेरवदल नभए यसैसाता पदमुक्त हुनेछन् । 

मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेको एकसाता बित्न नपाउँदै पदीय अस्तित्व धरापमा परेपछि आचार्यमा निराश छन् । लामोसमय नेता माधवकुमार नेपाललाई साथ दिएका आचार्य मुख्यमन्त्री पाउने भएपछि एमाले एकताका नाममा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा उभिएका थिए ।

तत्कालीन मुख्यमन्त्री शेरधन राई राजीनामा दिएर आचार्यको मुख्यमन्त्री बन्ने यसअघिको पटक–पटकको चाहना पूरा गर्न तयार भएपछि नेता आचार्यको सपना वास्तविकतामा परिणत भएको थियो । राजनीतिक जोडघटाउ र प्राप्तिमा मात्रै ध्यानदिने पुरानो प्रवृत्तिले आचार्यको पद धरापमा परेको नेकपा समाजवादीका सांसद बताउँछन् ।

प्रदेश १ का १० जना एमाले सांसदले बुधबार एकीकृत समाजवादी पार्टी रोज्दै निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेपछि एमाले नेतृत्वको एकल बहुमतीय सरकार अल्पमतमा परेको छ । एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यहरु राजेन्द्र राई, सावित्रा रेग्मी, उपेन्द्र घिमिरे, राजन राई, कृष्णकुमारी राई, खिनुलङ्वा लिम्बू, गणेश काङ्बाङ, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा समाजवादी पार्टीमा खुलेका छन् ।

प्रदेश १ सभामा कुल ९३ सांसद रहेकोमा अहिले ९२ सदस्य कायम छन् । एमालेकी सांसद गुलेफन खातुन फौजदारी अभियोगमा अदालतले कैद सुनाएकाले फरार छिन् । प्रदेशसभाको निर्वाचनलगत्तै एमाले संसदीयको दलको नेतामा आचार्यले निवर्तमान मुख्यमन्त्री राईसँग दुई मतले हार व्यहोर्नु परेको थियो ।

राईसँग पराजित भएपछि आचार्य मुख्यमन्त्री बन्नबाट वञ्चित भएका थिए । तत्कालीन नेकपामा चुलिएको विवादपछि तत्कालीन मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्री बन्ने आचार्यको दोस्रो प्रयास पनि विफल भएको थियो । प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा पनि ४७ सांसद आवश्यक पर्छ ।

एमाले एक हुँदा ५१ जना सांसद थिए । बुधबार एकीकृत समाजवादीमा एमालेका ५१ मध्ये १० सांसद सामेल भएका छन् । सरकारको नेतृत्व गरेको दल विभाजन भएमा मुख्यमन्त्रीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

विद्यमान सत्ता समीकरणलाई हेर्ने हो भने एमालेलाई बहुमतको अंकगणित जुटाउन कठिन छ । प्रदेशसभामा अब एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन र अन्य दुई साना दलका एक–एकजना सांसद छन ।

यद्यपी मुख्यमन्त्री आचार्यले भने संसद फेस गर्ने र वहुमत सिद्ध गर्ने दावी गरिरहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) प्रदेश १ भीम आचार्य

विशेष