News

एकैदिन वुद्ध एयरका दुई जहाजमा समस्या, दुर्घटनावाट जोगिए पनि यात्रुको रुवावासी

एकैदिन वुद्ध एयरका दुई जहाजमा समस्या, दुर्घटनावाट जोगिए पनि यात्रुको रुवावासी

काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्यान्डिङ गियर नखुल्दा झन्डै दुई घण्टापछि काठमाडौंमै अवतरण गरिएको छ । बायाँपट्टिको ल्यान्डिङ गियरमा समस्या देखिएपछि काठमाडौं फर्किनु परेको बुद्ध एयरले जनाएको छ ।

८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया जहाज विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो । काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित अवतरण भएको छ। आकस्मिक अवतरण गर्नुपर्ने सम्भावनालाई मध्यनजर गर्दै इन्धन घटाउन जहाजले काठमाडौंमा धेरै पटक फन्को लगाएको थियो ।

जहाजमा लामो समयदेखि समस्या देखिएको र ल्याण्ड गर्न समेत नसकेपछि यात्रुहरुको रुवावासी चलेको थियो भने कतिपय यात्रु वेहोस भएका थिए । एयरहोस्टेज समेत आत्तिएको र रोईरहेको देखिएको एक यात्रुले जानकारी दिए ।

जहाजलाई काठमाडौंमा अवतरण गराउन आधा घण्टा विमानस्थल बन्द गरिएको थियो । अल्टिच्युड एयरका क्याप्टेन विवेक खड्काले हेलिप्याडबाट उक्त जहाजको तस्बिर खिचेर टावरलाई ल्यान्डिङ गियर खुलेको जानकारी गराएका थिए ।

दूरबिनबाट पनि गियर खुलेको देखिएपछि जहाजका चालकलाई अवतरण गर्न सल्लाह दिइएको थियो ।  विमानस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना दमकलसहित उपस्थित थिए । उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए । जहाजमा ७३ यात्रु र चालकदलका ४ सदस्य सवार थिए ।

बुद्ध एयर आजको घटनाको छानबिनका लागि समिति बनाउने भएको छ । 

यसैबीच सोमबार पोखराका लागि उडेको बुद्ध एयरकै अर्को जहाज गोरखाको मनकामनामाथि पुग्दा इन्डिकेटरमा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको थियो । ककपिटमा धुवाँ देखिएपछि जहाज काठमाडौं फिर्ता भएको हो।

बिहान साढे ७ बजे काठमाडौंबाट पोखराका लागि उडेको यू ६०१–९ एनएजेओ जहाज पोखरा नपुगी काठमाडौं फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । जहाजमा देखिएको समस्या समाधान गरी सो जहाज पुनः पोखरा गएको छ । 

बुद्ध एयर

विशेष