News राजनीति

ओलीको आक्रोश–  अध्यादेश प्रतिपक्षी दल फुटाउने दूःषित मनसायबाट अभिप्रेरित

ओलीको आक्रोश–  अध्यादेश प्रतिपक्षी दल फुटाउने दूःषित मनसायबाट अभिप्रेरित

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरवहादुर देउवा नेतृत्वको सरकारले जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रतिपक्षी दल फुटाउने दूःषित मनसायबाट अभिप्रेरित भएको पुष्टी भएको जनाएका छन् ।

मंगलबार बिहान कानुन, संसदीय तथा न्याय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको भेटमा अध्यक्ष ओलीले उक्त अध्यादेश सरकारले असंवैधानिक, षड्यन्त्रपूर्ण र बद्नितपूर्ण तरिकारले जारी गरेको पुष्टि भएको बताएका हुन् ।

सरकारले उक्त अध्यादेश सोमवारै खारेज गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८’ खारेज गरेकी हुन । मन्त्रिपरिषद्को सोमवारको बैठकले सो अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो ।

ओलीको सचिवालयले जारी गरेको प्रेस विज्ञप्तिमा पनि ओलीले कानुनमन्त्री कार्कीमार्फत प्रधानमन्त्रीलाई पठाएको सन्देशमा मध्यरातमा संसद् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलको विरुद्धको षड्यन्त्र भएको बताइएको छ ।

संसद् अधिवेशन चलिरहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद्बाहेक अन्यत्रबाट हुन नसक्ने पनि ओलीले जनाएका छन् । संसद् अधिवेशन चालु रहेकै बेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दूःषित मनसायबाट अभिप्रेरित, दलीयव्यवस्था र प्रमुखप्रतिपक्षी दलविरुद्ध लक्षित छ भन्ने कुरा प्रस्ट भएको विज्ञप्तिमा उल्लेख छ।

सरकारले भदौ २ गते जारी गरेको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश मार्फत एमाले फुटेको छ। वरिष्ठ नेता माधवकुमार नेपालले १९ सांसदसहित नेकपा एकिकृत समाजवादी दर्ता गरेका छन् ।

केपी शर्मा ओली राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश

विशेष