News

जनप्रतिनिधि कब्जा गर्न जसपा र लोसपाको तानातानः उपेन्द्र र महन्थ जनकपुरमा

जनप्रतिनिधि कब्जा गर्न जसपा र लोसपाको तानातानः उपेन्द्र र महन्थ जनकपुरमा

जनता समाजवादी पार्टी फुटाएर महन्थ ठाकुर र राजेन्द्र महताले लोकतान्त्रीक समाजवादी पार्टी गठन गरेपछि प्रदेश २ मा हलचल उत्पन्न भएको छ। जसपाका ५४ सांसदमध्ये १० जना सांसदहरुले प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को पक्षमा सनाखत गरे।

सांसदहरुलाई लिएर कार्यकारिणी सदस्य सोनल निर्वाचन कार्यालय पुगेका थिए । परमेश्वर साह, जयनुल राइन, गौरी नारायण साह, सुरिता साह, निलम भूमिहारनि, रमेश कुर्मी, बाबुलाल साह, अल्का कुमारी झा, बबिताकुमारी चौधरी र जानकी शरण साहले लोसपा रोजेका छन् ।

निर्वाचन कार्यालय पुगेका प्रदेश सांसदहरु सोनल, उपेन्द्र महतो, अभिराम शर्माले भने सनाखत गराएनन् । बाँकी प्रदेश सांसदहरुलाई ल्याएर सँगै तीनै जनाले सनाखत गर्ने लोसपा कार्यकारिणी सदस्य एवम् प्रदेश सांसद जितेन्द्र सोनलले जानकारी दिए । उनका अनुसार प्रदेश सांसद रानी शर्मा जनकपुर आउन नसकेका कारण निर्वाचन कार्यालय पुगेर पनि सनाखत नगरेका हुन् । अन्य सांसदहरुले बिहीबार र शुक्रबार सनाखतका लागि निर्वाचन कार्यालय वताईएको छ।

यता, स्थानीय तहका जनप्रतिनिधिहरुलाई पनि आफनो पक्षमा पार्न दुवै पक्ष दौदाहमा छन् । लोसपाका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायत शीर्ष नेताले प्रदेश–२ का आठ जिल्लामा आफूलाई केन्द्रित गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव पनि उनीहरूको रणनीति सफल हुन नदिन प्रदेश–२ को दौडमा छन् ।

लोसपा अध्यक्ष ठाकुर, महतोलगायत नेता बिहीबार धनुषाका जनप्रतिनिधिहरूसँग छलफलमा छन् । जनप्रतिनिधिलाई आफूतिर तान्ने उद्देश्यले लोसपा अध्यक्ष ठाकुरले आफ्नो पार्टीका नेताहरू महतो र शरतसिंह भण्डारीसँगै जनकपुरलाई मुकाम बनाएका छन् । आफ्ना जनप्रतिनिधिलाई रोक्न जसपा अध्यक्ष यादव पनि बिहीबार जनकपुर पुगेका छन् ।

जनता समाजवादी पार्टी महन्थ ठाकुर राजेन्द्र महतो प्रदेश २

विशेष