News

थोत्रा विमानमा बुद्ध एयरको लापरबाही, बुद्धले लैजाला ज्यान

थोत्रा विमानमा बुद्ध एयरको लापरबाही, बुद्धले लैजाला ज्यान

सोमबार काठमाडौंबाट विराटनगरका लागि उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन सकेन। ल्याण्डिङ गियर नखुलेका कारण विमान फेरि काठमाडौं नै फर्कियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सहजै अवतरण हुन सकेन ।

८ बजेर ३३ मिनेटमा काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको अल्फा नोभेम्बर इन्डिया विमान विराटनगरको आकाशमा दुई फन्को लगाएर काठमाडौं फर्किएको हो । काठमाडौंको आकाशमै झन्डै १० फन्को लगाएको उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १० बजेर १६ मिनेटमा सुरक्षित अवतरण भएको थियो।

विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बनिरहेका वेला विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खुलेको देखिएपछि विमानको सहज अवतरण सम्भव भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

विमानमा ७३ यात्रु र चालकदलका ४ सदस्यसहित ७७ जना सवार थिए । विराटनगरदेखि समस्या देखिएको विमान काठमाण्डौंमा आउँदा समेत अवतरण हुन नसकेपछि यात्रुहरु डराए । यात्रुहरुको रुवावासी चल्यो। 

विमानस्थलमा सुरक्षाकर्मी, एम्वुलेन्स र दमकलसहित तयारी अवस्थामा देखेपछि यात्रुले ‘अब जिन्दगी यति रछ’ भन्ने लागेको वताए । ‘ढोका खोल्दिनुस्, हामी हाम फाल्छौं पनि भन्यौं,’ यात्रु प्रताप लिम्बु भन्छन–‘एयर होस्टेजहरुले तपाईंलाई सक्दो बचाउने कोसिस गर्छौं । इन्धन सकेर धावनमार्गमा पानी छर्केर त्यसमाथि फम राखेर अवतरण गराउने हो भनेर जानकारी गराउनुभयो ।’

उनका अनुसार विमानमा ४/५ जना यात्रु वेहोस भएका थिए । अर्का यात्रु अनमोल प्रधान भन्छन– ‘जहाजमा भएका आमा बच्चा र पाका मानिसहरु आत्तिएर रुन थालेपछि झन् गाह्रो भयो ।’

यात्रुहरुका अनुसार विराटनगरमा विमान अवतरण हुन सकेन । किन भएन भनेर प्रश्न गर्दा अलिकति समस्या छ भनियो । विराटनगरमा अवतरण गराउन ६/७ पटक नै प्रयास गरियो तर सफल नभएपछि काठमाडौं फिर्ता भयो। काठमाडौं आउन्जेल केही जस्तो नलागे पनि काठमाडौं आएपछि पनि ८/९ पटकसम्म आकाशमा घुमाएको घुमायै गर्दा भने मनमा चिसो पस्यो ।

त्यसपछि विमानबाट जमिनमा हेर्दा नेपाली सेना, सुरक्षाकर्मी तयारी अवस्थामा देख्यौं । अब जिन्दगी यति रहेछ, दुर्घटना हुन्छ भन्ने नै भयो । एयर होस्टेजहरु केही हुँदैन भन्दैथिए । तर, उनीहरुको आँखामा देखिएका आँसुले उनीहरु समेत आत्तिएको स्पष्ट हुन्थ्यो। त्यसैले पनि यात्रुहरु थप भयभित भए । 

त्यसपछि अब अन्तिम पटक प्रयास गर्छौं भन्दै अवतरणको प्रयास गरियो । नभन्दै त्यस पटक भने सुरक्षित अवतरण भयो । जहाजमा मानिसहरु रोइकराई गरिरहेका थिए । कतिपय त बेहोस नै भए होलान् । विमान अवतरणपछि यात्रुले मुत्युको नजिक पुगेर फर्केको अनुभव गरिरहेका थिए । कतिपय भन्दै थिए–‘भगवान पशुपतिनाथले नयाँ जिवन दिनु भयो ।’

यस्तो जटिल अवस्थामा  पनि यात्रुलाई सकुसन अवतरण गराउने जहाजका क्याप्टेन आङ गेलु शेर्पा थिए । उनले ३ शिशु, २ बालबालिका र वयस्क गरी ७३ यात्रुलाई सुरक्षित अवतरण गराए । काठमाडौंबाट १८ सय किलोग्राम इन्धन राखेर उडेको जहाजले विराटनगरबाट फर्किने इन्धन पनि यतैबाट भरेर उडेको थियो । यदि ल्यान्डिङ गियर नखुलेको भए यसले अकाशमा उडेरै इन्धन नष्ट (फ्युल–बर्न) गरी फममा आपत्कालीन अवतरण गर्ने योजना बनाएको थियो । फम चिप्लो पदार्थ हो । पाङ्ग्रा नखुलेमा फायर ट्रकको माध्यमले धावनमार्गमा फम पोखेर जहाजको बेली (जहाजमुनिको भाग) ले घर्षण गराई अवतरण गराइन्छ ।

आठौं पटक धावनमार्गमाथिबाट उड्दा भने एटीसी र धावनमार्ग आसपासमा उभिएका सुरक्षाकर्मीले जहाजको सबै पाङ्ग्रा खुलेको देखे । त्यसपछि भने क्याप्टेन शेर्पाले जहाजलाई अवतरण गर्ने योजना वनाए । उनलाई अनुमति पनि दिइयो । प्रारम्भिक अनुमानअनुसार ल्यान्डिङ गियर खुलेको तर ककपिटमा रहने दुई इन्डिकेटरमध्ये एउटाले खुलेको, अर्कोले नखुलेको देखाएका कारण चालकदलले विराटनगरमा अवतरण नगरेको देखिन्छ । जे होस आङ गेलुको धैर्यता र साहसका कारण यात्रुले सकुसल अवतरण गर्न पाएको वताईन्छ।

सोमबार बिहानै पोखराका लागि उडेको बुद्धकै अर्को एटीआर–७२ जहाजको कार्गो कम्पार्टमेन्टमा ग्यास भरिएको संकेत ककपिटमा देखिएको थियो । उक्त जहाज पनि बीचबाटोबाटै फर्किएको थियो । 

बुध्द एयरकै अर्को जहाज काठमाडौं–धनगढी उडानमा रहँदा आईतवार त्यस्तै समस्या देखिएको बताइन्छ । 

यतिमात्र होईन, वुद्ध एयरमा पछिल्लो समय धेरै नै समस्या देखिन थालेका छन् । १५ दिनअघि मात्रै नेपालगञ्ज गएका एक यात्रु बुद्ध एयरमा देखिएको गडवडी र समस्याका कारण फर्किदा यती एयरलाईन्सवाट फर्केको वताउँछन् । ‘वुद्धका अधिकांश विमान पुराना र थोत्रा छन् । पुरानो बस÷ट्रकबाट आउने जस्तै आवाज विमानमा सुनिन्छ। टेक–अप, र ल्यान्डिङको समयमा पनि अनौठो आबाज आउने गरेको छ’ ति यात्रु भन्छन–‘त्यसको मर्मत गर्ने र भयरहित विमान चलाउने विषयमा वुद्धको लापर्वाही पहिलैदेखि देखिएको हो ।’

वुद्धले अहिले जम्मा १५ वटा विमान सञ्चालन गरिरहेको छ। वि १९०० डी (Beechcraft 1900D) २ वटा, एटिआर ४२–३२० ३ वटा र एटिआर ७२–५०० १० वटा गरी जम्मा १५ वटा विमान सञ्चालनमा रहेको वुद्ध एयरका कम्युनिकेशन म्यानेजर दिपेन्द्र कर्णले वताए । कतिपय विमान १५/२० वर्षदेखि सञ्चालनमा रहेको उनले नै स्विकारे । तर, कति वटा विवमान पुराना र कति वटा नयाँ छन् भन्ने विषयमा भने उनले वोल्न चाहेनन् ।

आईतवार र सोमवार विमानमा देखिएको समस्या संयोग मात्रै भएको र विमानमा कुनै समस्या नभएको पनि उनले दावी गरे । 
 

अर्को श्रृंखलामा एयरलाईन्स कम्पनीको दादागिरी, बुद्ध एयरले आफ्नै कर्मचारी र यात्रुहरुसँग गर्ने ठगी कार्यलगायत एयरलाईन्सले सरकारी नियमको कसरी धज्जी उडाउँछन् भन्ने विषय समेट्ने छौं। नेपाल आज हेर्दै रहनु होला।

यो पनि

एकैदिन वुद्ध एयरका दुई जहाजमा समस्या, दुर्घटनावाट जोगिए पनि यात्रुको रुवावासी

वुद्ध एयर

विशेष