News

भारतको सहयोगमा काभ्रेमा निर्मित ६ वटा विद्यालयको उद्घाटन

भारतको सहयोगमा काभ्रेमा निर्मित ६ वटा विद्यालयको उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालित ७ वटा पुनर्निर्माण परियोजनाको वुधवार उद्घाटन गरिएको छ। भारतीय विदेश मन्त्रालयमा नेपाल र भूटान मामिला हेर्ने (नर्थ डिभिजन प्रमुख) सहसचिव अनुराग श्रीवास्तबले परियोजनाको उद्घाटन गरेका हुन ।

सहसचिव श्रीवास्तव, काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुलप्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधिसभा सदस्य गङ्गाबहादुर तामाङ्ग, तथा नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुव प्रसाद शर्माले हालसालै निर्माण सम्पन्न भएका ६ वटा विद्यालयहरुको संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

भारतको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत कुल १९ दशमलव ७ करोड लागतमा निर्माण भएका यी ६ वटा विद्यालय भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप निर्माण भएका छन् । श्री आजाद माध्यमिक विद्यालय (बनेपा), श्री भगवती माध्यमिक विद्यालय (पाँचखाल), श्री आजाद माध्यमिक विद्यालय (पाँचखाल), श्री दुग्धेश्वर माध्यमिक विद्यालय (पाँचखाल), श्री शारदा माध्यमिक विद्यालय (पनौती) र श्री खाँडादेवी माध्यमिक विद्यालय (चौरी देउराली) गरी ६ वटा विद्यालयहरुको निर्माण सम्पन्न गरिएको जनाईएको छ।

यी विद्यालयमा २ हजार भन्दा वढि विद्यार्थी अध्ययन गर्न सक्ने जनाईएको छ। 

भारतले नेपालका आठ जिल्लामा भूकम्पले क्षति पु¥याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाएको थियो । यी विद्यालय सोही योजना अन्तर्गत निर्माण भएका हुन्।

हालसम्म १४ वटा विद्यालयको पुनर्निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ । 

यसैगरी, काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खोपासी प्राथमिक उपचार केन्द्रको भूमीपूजन गरिएको छ। स्वास्थ्य क्षेत्रमा १३२ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो । यो स्वास्थ्य चौकी नेपाली ७ दशमलव ५ करोडमा वन्न लागेको हो । यस उपचार केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाका करिब १५ हजार मानिसलाई आपतकालीन, मातृ तथा शिशु स्वास्थ्य र अन्य चिकित्सा सेवाहरु प्रदान गर्नेछ । 

नेपालमा आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । भूकम्पपछिको पुनर्निर्माण कार्यका लागि आवासको क्षेत्रमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर, शिक्षाको क्षेत्रमा ७० वटा विद्यालय र एउटा पुस्तकालय, स्वास्थ्यको क्षेत्रमा १३२ वटा स्वास्थ्य भवन, र सांस्कृतिक सम्पदाको क्षेत्रमा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापना÷प्रबलीकरण भइरहेको छ।

पुनर्निर्माण परियोजना

विशेष